इतिहासबाट पाठ सिकेर राजनीतिक गन्तव्य तय गर्न देउवाको आग्रह

विज्ञापन
ncell

देउवाले अग्रजहरूले ज्यानको आहुति र लामो संघर्षबाट मुलुकलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याएको उल्लेख गर्दै इतिहास बिर्सिए सही गन्तव्यमा पुग्न नसकिने तर्क गरे ।

काठमाडौं । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले मुलुकमा देखिएको निराशालाई आशामा बदल्ने दायित्व नेपाली काँग्रेसले लिनुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा पार्टीको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको राजनीतिक इतिहास र अग्रजहरूको योगदानलाई नजरअन्दाज गर्ने नभई समाजमा स्थापित गर्नुपर्ने समेत बताए ।

नेपाली काँग्रेसले विगतमा गरेको योगदान बुझ्न राणाकालीन अवस्था, गरिबी तथा निरङ्कुश निर्दलीय व्यवस्थाविरुद्ध पार्टीले गरेको संघर्षबारे नयाँ पुस्ताले जान्न आवश्यक रहेको उनको भनाइ छ । देउवाले अग्रजहरूले ज्यानको आहुति र लामो संघर्षबाट मुलुकलाई अहिलेको अवस्थामा ल्याइपुर्‍याएको उल्लेख गर्दै इतिहास बिर्सिए सही गन्तव्यमा पुग्न नसकिने तर्क गरे ।

उनले राजनीतिक परिवर्तन र पुर्खाहरूको योगदानको इतिहास टोल-टोलसम्म पुर्याउन आग्रह पनि गरे । उनले इतिहासबाट पाठ सिकेर मुलुकको राजनीतिक गन्तव्य तय गर्न सकेमात्र सही बाटो पहिल्याउन सकिने बताए । उनले विगतमा केही पनि नभएको र सबै खराब भयो भन्ने भाष्यमा समाजमा फैल्याउन लागिएको भन्दै यसले मुलुकलाई झन कमजोर बनाउने बताए । उनले मुलुकको इतिहासमा गर्व गर्ने वातावरण बनाउने जिम्मेवारी पनि नेपाली काँग्रेसकै काँधमा आएको बताए ।