५५ वर्षमा राजनीति छाड्ने घोषणा कार्यान्वयन गर्न गगनलाई नेता बस्नेतको चुनौती
नेता बस्नेतले सभापति थापा हाल ५२ वर्ष पुगिसकेको र आगामी आवधिक निर्वाचनसम्म उनले घोषणा गरेको ५५ वर्षको उमेर हद नाघिसक्ने उल्लेख गरे ।
काठमाडौं । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीका सभापति गगन थापालाई ५५ वर्षको उमेरमा राजनीतिबाट सन्यास लिने आफ्नो पूर्वघोषणा कार्यान्वयन गर्न चुनौती दिएका छन् ।
नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेला कार्यक्रममा बोल्दै नेता बस्नेतले थापाको उमेर र उनले विगतमा व्यक्त गरेका प्रतिवद्धताका विषयमा टिप्पणी गरेका हुन् ।
नेता बस्नेतले सभापति थापा हाल ५२ वर्ष पुगिसकेको र आगामी आवधिक निर्वाचनसम्म उनले घोषणा गरेको ५५ वर्षको उमेर हद नाघिसक्ने उल्लेख गरे । पार्टीको वर्तमान अवस्था र नेतृत्वका सम्बन्धमा टिप्पणी गर्दै नेता बस्नेतले शेरबहादुर देउवाको नेतृत्वको बचाउ गरे । देउवाकै कुशलताका कारण काँग्रेसले स्थानीय तह, प्रदेश, संघ र राष्ट्रिय सभामा समेत सफलता र बहुमत प्राप्त गरेको उनको दाबी थियो ।
बस्नेतले पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै अनुभवी नेतृत्वको अपरिहार्यता औंल्याए । उनले नयाँ पुस्तालाई लक्षित गर्दै परिपक्व नेतृत्वविना पार्टी र देशले सही निकास पाउन नसक्ने तर्क गरे । काँग्रेसलाई अझ सबल र एकीकृत बनाउन सभापति देउवाकै अभिभावकत्व आवश्यक रहेको उनको जिकिर छ ।
