सीमा सम्बन्धी विषयमा व्यावसायिक कम्पनीभन्दा राज्यको नीति प्रतिष्ठान जवाफदेही हुनुपर्छः मनिष झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सीमा विवाद र अतिक्रमणका विषयमा व्यावसायिक अनुसन्धान संस्थाहरूभन्दा राज्यको नीति प्रतिष्ठान बढी जिम्मेवार र जवाफदेही हुनुपर्ने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सीमाङ्कन र राष्ट्रिय नीतिका विषयहरू नीतिगत अनुसन्धानका पाटो भएको स्पष्ट पारे ।
सांसद झाले सीमाका सम्बन्धमा विगतमा नेपाली काँग्रेस नेतृत्वको सरकारले गरेको अध्ययन र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनले औँल्याएका तथ्यहरूका बारेमा चर्चा गरे ।
ईपीजी प्रतिवेदनले ६४ स्थानमा भारतीय र ४४ स्थानमा नेपाली पक्षको चासो वा प्रभाव रहेको देखाएको उल्लेख गर्दै उनले सीमा क्षेत्रमा ‘क्रस होल्डिङ’ र ‘क्रस युटिलाइजेसन’ को जटिलता रहेको बताए । सांसद झाले ‘फ्याक्ट्स नेपाल’ जस्ता संस्थाहरू व्यावसायिक बजार अनुसन्धानमा केन्द्रित रहने उल्लेख गर्दै सीमा अतिक्रमण जस्ता गम्भीर विषयमा त्यस्ता संस्थालाई प्रश्न गर्नु सान्दर्भिक नहुने तर्क गरे ।
