शिक्षा, स्वास्थ्य र कृषिका ८ परियोजनामा भारतले ८० करोड बढी सहयोग गर्ने
काठमाडौं । भारत सरकारले नेपालको शिक्षा,स्वास्थ्य र कृषि क्षेत्रमा ८०करोड ३०लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ । सहयोगसम्बन्धी परियोजना कार्यान्वयनका लागि नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार कोशी प्रदेशअन्तर्गत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन गरिनेछ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण गरिनेछ भने मोरङको बेलबारी नगरपालिका-३ मा बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण हुनेछ ।
त्यस्तै, सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गर्ने योजना रहेको छ । बागमती प्रदेशको धादिङस्थित ज्वालामुखी गाउँपालिका-६ मा नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन निर्माण गरिनेछ ।
कर्णाली प्रदेशअन्तर्गत दैलेखको डुङ्गेश्वर गाउँपालिका-५ मा १० शय्याको अस्पताल निर्माण गरिनेछ भने हुम्लाको सर्केगाड गाउँपालिका-४ मा कृषि प्रवद्र्धन केन्द्र स्थापना गरिनेछ ।
यसैगरी, गण्डकी प्रदेशको स्याङ्जास्थित कालीगण्डकी गाउँपालिका-४ मा कृषि उत्पादन संरक्षणका लागि कोल्ड स्टोर निर्माण गरिनेछ ।
भारत सरकारको सहयोगमा सञ्चालन हुने यी परियोजना नेपाल सरकारका सम्बन्धित स्थानीय तह तथा संस्थामार्फत कार्यान्वयन गरिने जनाइएको छ ।
