प्रधानमन्त्रीको ‘एक्लोपन’ माथि एमाले सांसद थेबेको प्रश्नः कुन आधारमा साथ दिने ?

विज्ञापन
ncell

‘नो लाइन, ओन्ली अनलाइन’ र घरघरमै राहदानी पुर्‍याउने वाचा गरे पनि युवाहरू अझै मध्यरातदेखि लाइन बस्न बाध्य भएको उनले बताए ।

काठमाडौँ । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले प्रधानमन्त्रीको कार्यशैली र सरकारको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थेबेले प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका ‘एक्लोपन’ प्रति टिप्पणी गर्दै विभिन्न जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद थेबेले सरकारले गरेका चुनावी वाचाहरू पूरा नभएको भन्दै कडा आलोचना गरे । ‘नो लाइन, ओन्ली अनलाइन’ र घरघरमै राहदानी पुर्‍याउने वाचा गरे पनि युवाहरू अझै मध्यरातदेखि लाइन बस्न बाध्य भएको उनले बताए । अघिल्लो सरकारले प्रिन्ट गरेर राखेको १२ लाख लाइसेन्स समेत वितरण गर्न नसकेको र दैनिक उपभोग्य वस्तु ग्यासका लागि समेत जनता लाइनमा बस्नुपर्ने अवस्था रहेको उनको तर्क छ । उनले हाल सञ्चालनमा आउन नसकेको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई ‘डेडिकेटेड श्रमिक अन्तर्राष्ट्रिय विमानस्थल’ बनाउन समेत सरकारसँग माग गरे ।