प्रधानमन्त्री संसदबाट पन्छिएको हर्कराज राईको आरोप, सरकारको कार्यशैलीमाथि प्रश्न

विज्ञापन
ncell

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले देशमा नागरिक मात्र नभई जनप्रतिनिधि समेत सुरक्षित नरहेको टिप्पणी गरे ।

राईले प्रधानमन्त्रीको कार्यशैली र जवाफदेहितामाथि प्रश्न उठाए । विगत साढे दुई महिनादेखि संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गरिए पनि उनी पन्छिरहेको आरोप लगाए । उनले देशका विभिन्न भागमा धार्मिक र साम्प्रदायिक नाममा भइरहेका झगडा, आगजनी र धम्कीका घटनाप्रति चिन्ता व्यक्त गरे । यस्ता घटनाका दोषीलाई उजुरी गर्दा समेत कारबाही नहुनुले सरकारको कमजोरी उदाङ्गो भएको उनको तर्क छ । राईले जनताको दैनिक समस्या र सेवा सुविधाको अभावका विषयमा सरकार संवेदनशील नभएको आरोप लगाए । मन्त्रीहरू मन्त्रालयको वातानुकूलित (एसी) कोठामा सीमित भएको तर सडकमा ग्यासको लाइनमा बस्ने र माइतीघरमा न्यायका लागि आन्दोलन गर्ने नागरिकको पीडा नबुझेको उनले बताए ।

वैदेशिक रोजगारीका नाममा युवाहरू ठगिएको र विमानस्थलमा युवाहरूको लाम लाग्नुले देशमा अवसरको चरम अभाव देखाएको उनको भनाइ छ । उनले ठगी गर्नेहरूलाई कारबाही गर्न सरकारलाई कसले रोकेको हो भन्दै प्रश्न गरे । यस्तै, वर्षौँदेखि जग्गा भोगचलन गर्दै आएका सुकुम्बासी र वास्तविक भूमिहीनले अझै धनीपुर्जा नपाएको विषयमा भूमि सुधार मन्त्रालयले देखाएको आलटालप्रति पनि उनले आपत्ति जनाए ।  खेलकुद क्षेत्रको उपेक्षाको प्रसङ्ग निकाल्दै अध्यक्ष राईले चीनमा आयोजित प्रतियोगिताका क्रममा घाइते भएका खेलाडी आशिष राईको उपचारमा राज्यले सहयोग नगरेकोमा आक्रोश व्यक्त गरे । अन्तर्राष्ट्रिय खेलाडीहरू विदेशमा अलपत्र पर्नु र उपचार नपाएर रुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।