हाइब्रिड एसयूभी बीजे-३० ई सार्वजनिक, मूल्य १ करोड १९ लाख ९६ हजार
नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटीले नाइमा मोबिलिटी एक्स्पोमा बीजे ३० सार्वजनिक गरेको हो ।
काठमाडौं । चिनियाँ अटो निर्माता बेइजिङ अटोमोटिभ ग्रुप कम्पनी (बीएआईसी) आफ्नो लोकप्रिय हाइब्रिड एसयूभी बीजे-३० ई सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटीले नाइमा मोबिलिटी एक्स्पोमा बीजे ३० सार्वजनिक गरेको हो ।
बीजे-३० अफरोड डिजाइन र हाइब्रिड प्रविधिको संयोजन भएको एसयूभी हो। यसमा १।५ लिटर टर्बो पेट्रोल इन्जिनसँग डुअल इलेक्ट्रिक मोटर जोडिएको छ, जसले ४०९ हर्सपावर र ६८५ न्युटन मिटर टर्क उत्पादन गर्छ। कम्पनीको म्याजिक कोर डीएचइभी हाइब्रिड प्रणाली प्रयोग गरिएको एसयूभी शहरी सडकदेखि अफरोड यात्रासम्मलाई लक्षित गरेर विकास गरिएको हो ।
गाडीमा २१५ एमएम ग्राउन्ड क्लियरेन्स, विभिन्न ड्राइभिङ मोड, अफरोड क्षमता तथा मजबुत बडी स्ट्रक्चर उपलब्ध छ। इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्स्टुमेन्ट क्लस्टर र १४।६ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, प्रिमियम केबिन तथा आधुनिक कनेक्टिभिटी फिचर समावेश गरिएको छ । बीएआईसी चीनका ठूला सरकारी अटोमोबाइल समूहहरुमध्ये एक हो। कम्पनीले एसयूभी, अफरोड गाडी तथा विद्युतीय सवारी उत्पादन गर्दै आएको छ ।
