गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो: शशांक कोईराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शशांक कोईरालाले पार्टीभित्रका नेताहरूको आलोचना गरेर उनीहरूलाई थप महत्व नदिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । सोमबार काठमाडौंमा नेपाली काँग्रेस सिन्धु-काठमाडौंले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोईरालाले पार्टीका सभापति गगन थापाप्रति लक्षित गर्दै गाली गर्नुभन्दा मौन रहनु नै उचित हुने बताएका हुन् ।
अरूलाई कुरूप देखाएर आफू सुन्दर बन्न नसकिने तर्क गर्दै उनले कांग्रेस आफैँमा एक सुन्दर र गौरवशाली इतिहास भएको पार्टी भएको दाबी गरे । नेपाली काँग्रेसलाई ‘बुढाहरूको पार्टी’ भन्ने गरिएको आरोपप्रति टिप्पणी गर्दै कोईरालाले अबको भविष्य युवाहरूकै भएको र उनीहरूलाई नै नेतृत्वका लागि तयार पार्नुपर्नेमा जोड दिए । काँग्रेसको ऐतिहासिक योगदानको चर्चा गर्दै नेता कोईरालाले वीपी कोईराला र कृष्णप्रसाद कोईरालाको संघर्षले नै नेपाली जनताले अधिकार प्राप्त गरेको स्मरण गराए ।
