प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति

विज्ञापन
ncell

उनले आफूले जापानमा रहँदा सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई लिएर आफ्नो र परिवारको चरित्र हत्या गर्न सत्तारुढ दलकै कार्यकर्ता लागेको आरोप पनि लगाए ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा ‘केपी ओलीका कार्यकर्ता’को ट्याग भिराउने र ‘सरकारलाई काम गर्न दिएन’ भन्ने जवाफ दिने गरेको भन्दै आपत्ति जनाएका छन् । 

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै नेता शाहीले यस्तो आपत्ति जनाएका हुन् । नेता शाहीले जनताले आफूहरूलाई प्रश्न गर्न निर्वाचित गरेर पठाएको भन्दै प्रतिपक्षको भुमिकामा रहेकाले सरकारसँग प्रश्न गर्न पाउनुपर्ने बताए । उनले आफूले जापानमा रहँदा सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई लिएर आफ्नो र परिवारको चरित्र हत्या गर्न सत्तारुढ दलकै कार्यकर्ता लागेको आरोप पनि लगाए । उनले उक्त अभिव्यक्ति संवैधानकि आयोग तथा मानव अधिकार आयोगको प्रतिवेदनको आधारमा व्यक्त गरेकोले त्यस्तो कुनैपनि अप्रमाणित कुरा नरहेको बताए । उनले आफू उमेरले सरकारमा रहेका नेताभन्दा कान्छो भएपनि राजनीतिमा उनीहरूभन्दा पुरानो रहेको दाबी गरे । उनले विगतमा समेत सरकारको आलोचना गरेकै कारण आफूमाथि पटक पटक आक्रमण भएको भन्दै सरकारलाई प्रश्न गर्न नछोड्ने बताए ।