आज प्रतिनिधिसभा बैठक बस्दै, चार विधेयक पेस हुने

विज्ञापन
ncell

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विभिन्न चारवटा विधेयक पेस हुने कार्यसूची रहेको छ ।

बैठकमा परराष्ट्र तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्रीहरूले जवाफ दिनेछन् । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ तथा कानुनमन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ पेस गर्नेछन् ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ पेस गर्नेछन् । प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछिन् ।

यसैबीच आज चारवटा संसदीय समितिको बैठक पनि बस्दैछ । समितिहरूमा राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, राष्ट्रिय सदाचार नीति र समिति सञ्चालन कार्यविधिबारे छलफल हुने कार्यक्रम छ ।