सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे
उनले संविधानको रक्षा गर्ने जिम्मेवारी पाएको कार्यकारी निकायले नै संविधानमा समेटिएका उपलब्धिमाथि प्रश्न उठाउने अवस्था आउनु गम्भीर विषय भएको बताए ।
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नेतृत्व गर्नेहरुबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
३२ औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानले सुनिश्चित गरेका उपलब्धिमाथि कार्यकारी निकायबाटै पटक-पटक घोचपेच हुने गरेको आरोप लगाएका हुन् । उनले संविधानको रक्षा गर्ने जिम्मेवारी पाएको कार्यकारी निकायले नै संविधानमा समेटिएका उपलब्धिमाथि प्रश्न उठाउने अवस्था आउनु गम्भीर विषय भएको बताए । संविधानले आदिवासी जनजातिसहित महिला, दलित, मधेसी, मुस्लिम, थारू तथा अन्य सीमान्तकृत समुदायका पहिचान, अधिकार र प्रतिनिधित्वलाई लिपिवद्ध गरेको उल्लेख गर्दै उनले ती उपलब्धिहरु कसैको निगाहमा प्राप्त नभएको बताए । संविधानमा लिपिवद्ध भएका अधिकार विगतका पुस्ताले लामो संघर्ष गरेर पाएको र संघर्षबाट प्राप्त उपलब्धिलाई कसैको राजनीतिक भाषण वा भीड जम्मा गर्ने विषय बनाउन नहुने उनको भनाइ छ । उनले उपलब्धीको रक्षाको लागि आदीवासी जनजाती समुदाय एकजुट हुन नसकेकोमा पनि असन्तुष्टी जनाए । सामाजिक सञ्जालमा अधिकारका विषयमा ठूलो आवाज उठाउने गरेपनि अधिकार संरक्षणका लागि आवश्यक एकता र शक्ति प्रदर्शन गर्ने समयमा उपस्थित नहुने गरेको उनको भनाई छ । उनले अधिकारका लागि समुदाय आफैँ सचेत र संगठित हुनुपर्नेमा जोड दिए । २०७२ सालमा संविधान जारी गर्दा एकातर्फ दीपावली र अर्कोतर्फ संविधान जलाउने अवस्था देखिएको स्मरण पनि गरे । संविधान जारी गर्ने क्रममा असन्तुष्ट समुदायका मागलाई आगामी संवैधानिक अभ्यास र संशोधनमार्फत सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरिएको उल्लेख गर्दे उनले संविधान संसोधनका क्रममा ती मुद्दाहरुलाई पनि ध्यान दिनुपर्ने बताए । आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारू तथा सीमान्तकृत समुदायसँग गरिएका प्रतिवद्धता संशोधनका क्रममा समेटिनुपर्ने उनको भनाई छ । उनले सरकारले संविधान संशोधनका लागि गठन गरेको समितिका विषयमा नेपाली काँग्रेसको केही ‘रिजर्भेसन’ रहेको उल्लेख गर्दै आदिवासी जनजातिले पनि यसमा गम्भीर र सचेत हुनुपर्ने बताए ।
दोस्रो जनआन्दोलनबाट प्राप्त उपलब्धिमाथि अझै प्रश्न उठिरहेको उनको भनाई छ । धर्मनिरपेक्षता, संघीयता, प्रदेश संरचना तथा समानुपातिक समावेशी प्रतिनिधित्व संविधानको मुल मर्म रहेको उनले बताए । संविधानका यी उपलब्धीमाथी नै सरकारको नेतृत्व गर्नेहरुले प्रश्न उठाउने गरेकोले आशंका पैदा भएको उनको भनाई छ । आङ्देम्बेले संविधानबाट प्राप्त अधिकारको संरक्षणका लागि नेपाली काँग्रेसले सरकारलाई संसद् र सडक दुवैबाट खबरदारी गर्ने बताए । संविधानप्रदत्त अधिकार सुनिश्चित गर्न काँग्रेस निरन्तर आदीवासी जननजाती समुदायहरूसँगै रहने उनले प्रतिबद्धता पनि जनाए ।
