रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

विज्ञापन
ncell

पार्टीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नागरिक, सरकार, संसद् र पार्टी संगठनबीच प्रभावकारी समन्वय कायम गर्नु हो।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। पार्टीले नागरिकका गुनासा, सुझाव र अपेक्षालाई नीति निर्माण तथा सरकारको कार्यान्वयन प्रक्रियासँग प्रत्यक्ष जोड्ने उद्देश्यले कार्यक्रम अघि बढाउन लागेको हो।  

रास्वपाको केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिअनुसार कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा ‘नागरिक संवाद’ हुनेछ, जसअन्तर्गत साँझ ५ बजेदेखि ६ बजेसम्म एक घण्टा आम नागरिकका लागि खुला संवाद सञ्चालन गरिनेछ। कार्यक्रममा नागरिकले आफ्ना गुनासा, समस्या, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।

त्यसपछि ‘नेतृत्व संवाद’ अन्तर्गत साँझ ६ बजेदेखि मन्त्री, पार्टीको केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यहरूबीच छलफल हुनेछ। पहिलो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा समसामयिक, बहुआयामिक तथा नीतिगत विषयमा छलफल गरिने रास्वपाले जनाएको छ।  

पार्टीका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नागरिक, सरकार, संसद् र पार्टी संगठनबीच प्रभावकारी समन्वय कायम गर्नु हो। नागरिकका वास्तविक समस्या बुझेर राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने तथा नागरिकका मुद्दालाई प्रभावकारी रूपमा सम्बोधन गर्ने लक्ष्य राखिएको छ।

त्यस्तै, कार्यक्रममार्फत मन्त्रीहरूलाई आम नागरिकसँग प्रत्यक्ष रूपमा जवाफदेही बनाउने र सरकारमा रहेका प्रतिनिधिहरूबीच सूचना तथा कार्ययोजनाको आदानप्रदानलाई प्रभावकारी बनाउने उद्देश्यसमेत राखिएको छ।

रास्वपाका सहमहामन्त्री तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार प्रत्येक मन्त्रीले महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भएर नागरिक तथा पार्टी नेतृत्वसँग संवाद गर्ने व्यवस्था गरिनेछ। रास्वपाले यो कार्यक्रमलाई जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्ने प्रयासका रूपमा अघि बढाएको जनाएको छ।