व्यापारीलाई अपराधी जस्तो व्यवहार नगरियोस्: रवि लामिछाने
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले निजी क्षेत्रलाई डर र त्रासमा राखेर व्यापार गर्नसक्ने वातावरण नहुने बताएका छन् ।
यदि कुनै व्यापारी वा व्यावसायीले कुनै समयमा गल्ती गरेको भए उसलाई आर्थिक अपराधको दृष्टिले मात्रै हेरिनुपर्ने सभापति लामिछानेले बताएका छन् ।
शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा अन्य अपराधीजस्तो कतिबेला थुन्ला भन्ने डर र त्रास निजी क्षेत्रमा देखिएको, निजी क्षेत्रका व्यक्तिहरू तर्सिएको र आत्तिएको विषय आफूले थाहा पाएको बताएका हुन् । साथै, उनले यस विषयमा पार्टीको स्पष्ट धारणा रहेको भन्दै सरकारको ध्यानाकर्षण पनि गराए ।
‘अन्य अपराधीजस्तो साँझ बिहान कहिले थुन्ला उसलाई भन्ने डर र त्रासमा कसैले पनि व्यापार गर्न सक्दैन । म सरकारलाई यहीँबाट बताउन चाहन्छु । म स्पष्ट पार्न चाहन्छु कि, पार्टीको स्पष्ट लाइन छ । पार्टी स्पष्ट छ, कसैले गल्ती र कमजोरीलाई आर्थिक अपराधका दृष्टिकोणले हेर्ने हो,’ लामिछानेले भने ।
