अटो शोमा हुण्डाईको धमाका, मेड इन नेपाल भेन्यूसहित विभिन्न ब्रान्ड प्रदर्शनमा
एक्स्पोमा कम्पनीले सबैभन्दा ठूलो आकर्षणका रूपमा मेड इन नेपाल नयाँ जेनेरेशनको हुन्डाई भेन्यू एन लाइन सार्वजनिक गर्ने तयारी गरेको छ।
काठमाडौँ । साउन २६ गतेदेखि ३१ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ मोडलदेखि नयाँ ब्रान्डसम्मको आकर्षक लाइनअप प्रस्तुत गर्ने भएको छ । एक्स्पोमा कम्पनीले सबैभन्दा ठूलो आकर्षणका रूपमा मेड इन नेपाल नयाँ जेनेरेशनको हुन्डाई भेन्यू एन लाइन सार्वजनिक गर्ने तयारी गरेको छ। यो नवलपरासीस्थित एसेम्बली प्लान्टमा उत्पादन गरिएको हो ।
हुण्डाईका साथै लक्ष्मी ग्रुपले आफ्ना अन्य ब्रान्ड काई र फोर्थिङ का सवारीसाधन पनि प्रदर्शनीमा राख्ने जनाएको छ । यसपटकको एक्स्पोमा लक्ष्मी ग्रुपले नेपालमा पहिलो पटक दुई नयाँ चिनियाँ ब्रान्ड बीएआइसी र आर्कफक्स समेत भित्र्याउँदैछ । बीएआइसी अन्तर्गत कम्पनीले ‘बी सिरिज’ का शक्तिशाली अफरोडर गाडीहरू प्रदर्शन गर्नेछ, जुन नेपालको भौगोलिक अवस्थालाई लक्षित गरेर ल्याइएका मोडलहरू हुन् ।
त्यसैगरी, आर्कफक्स ब्रान्डअन्तर्गत आर्कफक्स टी-वान ईभी सार्वजनिक गरिनेछ । कम्पनीका अनुसार यो मास मार्केटलाई लक्षित गरिएको बजेट-मैत्री र आकर्षक डिजाइन भएको विद्युतीय गाडी हो । लक्ष्मी ग्रुपका अनुसार नाइमा मोबिलिटी एक्स्पो २०२६ मा हुण्डाईको नयाँ एन लाइन भर्सनदेखि नेपालमै एसेम्बल गरिएको भेन्यू, अफरोडर एसयूभी र नयाँ ईभीसम्मका मोडलहरू मुख्य आकर्षणका रूपमा रहनेछन् ।
यद्यपि, कम्पनीले जेटोर ब्रान्डलाई भने नाइमा एक्स्पोमा नभई आगामी नाडा अटो शो २०२६ मार्फत नेपालमा पहिलो पटक सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। विशेषगरी जेटोरका प्लग-इन हाइब्रिड मोडलहरू नाडा अटो शोका मुख्य आकर्षण बन्ने अपेक्षा गरिएको छ।
