सुरक्षा संयन्त्र विस्तारमा सरकार केन्द्रित, शिक्षा-रोजगारी बेवास्ता गरेको सांसद सिंहको आरोप
आन्दोलन र राष्ट्रियताको सन्दर्भमा बोल्दै सांसद सिंहले सधैँ गरिब र विपन्न वर्गका नागरिकले मात्र बलिदान दिनुपरेको तर नेतृत्व तहका व्यक्तिका सन्तान कहिल्यै पीडित नभएको तर्क गरे ।
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। अमरेशकुमार सिंहले राज्यले सुरक्षा निकायको संख्या वृद्धिलाई प्राथमिकता दिएपनि शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा ध्यान नदिएको भन्दै आलोचना गरेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपरको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन् ।
बैठकमा सांसद सिंहले जनसंख्याको अनुपातमा सुरक्षाकर्मीको संख्या नेपालमा विश्वकै उच्च रहेको दाबी गरे । राज्यले शिक्षा, विज्ञान र प्रविधिको विकासका लागि विधेयक ल्याउनुको सट्टा सुरक्षा संयन्त्र मात्र विस्तार गर्न खोजेको उनको आरोप छ । सांसद सिंहले सुरक्षा निकायको परिचालन र नियतमाथि प्रश्न उठाउँदै मधेसी, जनजाति, दलित र थारु समुदायको आन्दोलनलाई दबाउन सुरक्षा बल प्रयोग गर्ने गरिएको टिप्पणी गरे । उनले सुरक्षा निकायको यो उपस्थितिले समुदाय विशेषमाथि मनोवैज्ञानिक त्रास सिर्जना गरेको भन्दै मधेसबाट सशस्त्र प्रहरी फिर्ता गर्न माग गरे ।
आन्दोलन र राष्ट्रियताको सन्दर्भमा बोल्दै सांसद सिंहले सधैँ गरिब र विपन्न वर्गका नागरिकले मात्र बलिदान दिनुपरेको तर नेतृत्व तहका व्यक्तिका सन्तान कहिल्यै पीडित नभएको तर्क गरे । राष्ट्रियताको परिभाषा र युवा पलायनका विषयमा उनले सरकारको आलोचना गरे । युवाहरू मलेसिया, कतार र साउदी अरबमा श्रम गर्न बाध्य भइरहेको अवस्थामा स्वदेशमै रोजगारी सिर्जना गर्नुको सट्टा सैन्य स्वरूपको क्याडर तयार पार्नु बेकुफी भएको उनको तर्क छ । युवाहरूलाई विदेश जानबाट रोकेर स्वदेशमै रोजगारी दिनु नै वास्तविक राष्ट्रियता हुने उनले उल्लेख गरे । सांसद सिंहले राज्य व्यवस्था समितिको बैठकमा सुरक्षा निकायको पछिल्लो गतिविधि र परिचालनबारे विस्तृत छलफल गर्न माग समेत गरेका छन् ।
