निर्मल पुर्जाको अन्त्येष्टि बेलायतमा गरिने
पुर्जाको परिवार बेलायतको लन्डनमा रहेकाले धार्मिक परम्पराअनुसार अन्त्येष्टि लन्डनमा नै गरिने भएको हो।
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा गएको भीषण हिमपहिरोमा ज्यान गुमाएका विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतको लन्डनमा हुने भएको छ । पुर्जाको परिवार बेलायतको लन्डनमा रहेकाले धार्मिक परम्पराअनुसार अन्त्येष्टि लन्डनमा नै गरिने भएको हो ।
स्वर्गीय पुर्जाको शव साउन १७ गते पहिचान भए पनि मौसम प्रतिकूल हुनुका साथै अन्य आरोहीको शवभन्दा निकै अप्ठ्यारो स्थानमा रहेकाले बुधबार दिउँसो मात्रै उद्धार गरि बेसक्याम्पमा ल्याइएको थियो ।
स्वर्गीय पुर्जाको कम्पनी एलिट एक्सपिडिसनले बुधबार जारी गरेको विज्ञप्तिमा ‘निम्स’ पुर्जा, निमा शेर्पा, झोङ वाङ र किलु शेर्पाको शव अत्यन्त चुनौतीपूर्ण उद्धार अभियानपछि ब्रोड पिकबाट निकालेर सुरक्षित रूपमा बेसक्याम्पमा ल्याइएको उल्लेख गरेको छ । उक्त शव शुक्रबार राति वा शनिबारसम्म लन्डन पुर्याइने जनाइएको छ ।
लन्डनमा पनि अन्तिम विदाईका लागि आवश्यक कानुनी प्रक्रियासहितका कार्य पूरा गर्न केही समय लाग्ने बताइएको छ। हिमपहिरोमा ज्यान गुमाएका आरोहीको शव संकलनमा पाकिस्तान सरकार, पाकिस्तान आर्मी, ब्रिटिस हाइ कमिसन, गिल्गिट-बाल्टिस्तान सरकार, नेपाल दूतावास र अल्पाइन क्लब अफ पाकिस्तानले सहयोग गरेका थिए ।
पुर्जाले अतिरिक्त अक्सिजन प्रयोग नगरी आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल सबैभन्दा छोटो समयमा आरोहण गरी विश्व कीर्तिमान बनाएका थिए। पाकिस्तानको केटु हिमालमा समेत दुर्लभ कीर्तिमान कायम गरेका पुर्जाको नाममा १८ वटा गिनिज वर्ल्ड रेकर्ड रहेका छन् ।
