लुम्बिनी विकास बैंकको नाफामा २५३ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफामा पनि उच्च वृद्धि

विज्ञापन
ncell

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८५ करोड ७३ लाख रुपैयाँबाट ७.५३ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

काठमाडौं । लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ । यद्यपि खराब कर्जा (एनपीएल) भने बढेको देखिएको छ ।

विवरणअनुसार गत आर्थिक वर्षमा ८५ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा २४ करोड ११ लाख रुपैयाँ रहेको थियो। यसअनुसार बैंकको खुद नाफा २५२.९६ प्रतिशतले बढेको हो । नाफामा आएको वृद्धिसँगै बैंकको लाभांश क्षमता पनि उल्लेखनीय रूपमा सुधारिएको छ । अघिल्लो वर्ष ५.०९ प्रतिशत मात्रै रहेको लाभांश क्षमता बढेर १६.९९ प्रतिशत पुगेको छ । वितरणयोग्य मुनाफा १८ करोड ४३ लाख रुपैयाँबाट २३३.८९ प्रतिशतले बढेर ६१ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८५ करोड ७३ लाख रुपैयाँबाट ७.५३ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ७२ लाख रुपैयाँ पुगेको छ । खुद शुल्क तथा कमिसन आम्दानी भने २० करोड ६० लाख रुपैयाँबाट घटेर १८ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ ।  कुल सञ्चालन आम्दानी २ अर्ब १५ करोड रुपैयाँबाट बढेर २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा भने ५८ करोड ७० लाख रुपैयाँबाट १०८.५० प्रतिशतले वृद्धि भई १ अर्ब २१ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।

 अघिल्लो वर्ष ७७ करोड ८७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको बैंकले समीक्षा अवधिमा १३ करोड ५० लाख रुपैयाँ मात्रै छुट्याएको छ । प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेखनीय रूपमा बढेको छ । अघिल्लो वर्ष ६.६५ रुपैयाँ रहेको ईपीएस बढेर २३.४८ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ २१३.७३ रुपैयाँ, मूल्य-आम्दानी अनुपात (पीई रेसियो) २०.५८ गुणा, तरलता अनुपात २७.८९ प्रतिशत, आधारदर ५.४८ प्रतिशत तथा कस्ट अफ फण्ड ३.९५ प्रतिशत कायम भएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ३ अर्ब ६२ करोड ३६ लाख रुपैयाँ कायम छ। सञ्चित नाफा र जगेडा कोष गरी बैंकको कुल इक्विटी ७ अर्ब ७४ करोड ४७ लाख रुपैयाँ पुगेको छ। बैंकले ग्राहकहरूबाट ५७ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कुल कर्जा ४७ अर्ब ५ करोड ६२ लाख रुपैयाँ रहेको छ। सो अवधिसम्ममा बैंकको कुल सम्पत्तिको आकार ६७ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ रहेको छ ।