ब्रोड पिकबाट ‘निम्सदाइ’सहित चार आरोहीको शव उद्धार
गत बिहीबार विश्वको १२ औं अग्लो हिमाल ब्रोड पिकमा आएको हिमपहिरोमा परि १० पर्वतारोही वेपत्ता भएका थिए। उनीहरु सबैको निधन भएको पुष्टि भइसकेको छ ।
काठमाडौं । ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’सहित झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव उद्धार गरी आधार शिविरमा ल्याइएको छ ।
निम्सको कम्पनी एलिट एक्स्पेडका अनुसार अत्यन्तै कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि चारै जनाको शव सुरक्षित रूपमा आधार शिविर पुर्याइएको हो ।
उद्धार अभियानको नेतृत्व मिङ्मा डेभिड शेर्पाले गरेका थिए भने सिरबाज खानसहित स्थलमा खटिएको उद्धार टोलीले असाधारण साहस, व्यावसायिकता र निस्वार्थ समर्पणका साथ अभियान सम्पन्न गरेको कम्पनीले जनाएको छ । उद्धार अभियान सफल बनाउन सहयोग गर्ने पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट-बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाल दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा सहयोग गर्ने सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ ।
निम्स, झोङ, निमा र किलुले अब आफ्ना परिवारसम्म अन्तिम यात्राको सुरुआत गर्न पाउने भएकाले केही राहत महसुस भएको कम्पनीले जनाएको छ ।
साथै अझै बेपत्ता रहेका अन्य तीन आरोहीका परिवारप्रति पनि समवेदना व्यक्त गर्दै सुरक्षित अवस्था सिर्जना भएपछि उनीहरूको खोजी तथा उद्धारका लागि सम्भव सबै प्रयास जारी रहने प्रतिबद्धता जनाइएको छ ।
गत बिहीबार विश्वको १२ औं अग्लो हिमाल ब्रोड पिकमा आएको हिमपहिरोमा परि १० पर्वतारोही वेपत्ता भएका थिए। उनीहरु सबैको निधन भएको पुष्टि भइसकेको छ ।
