राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग अर्थमन्त्री वाग्लेः प्रश्नको वर्षा गराए, उत्तर कार्यकारीले दिने कि गभर्नरले ?

विज्ञापन
ncell

गभर्नर र डेपुटी गभर्नर उपस्थित नभएको वैठकमा राष्ट्र बैंकको परम्परागत कार्यशैली र भूमिकामाथि प्रश्न

उद्योगी, व्यवसायी र बैंकरहरुबीचको काममा देखिएको विरोधभाषपूर्ण व्यवहार सच्याउने काम राष्ट्र बैंकको हो । निजी क्षेत्रले अहिले अवसरभन्दा बढी नीतिगत स्थिरता र छिटो निर्णयको अपेक्षा गरेकाले राष्ट्र बैंकले परिस्थितिको आंकलन गरि काम गर्नुपर्ने छ ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग लामो समय विताएका छन् । गभर्नर डा.विश्वनाथ पौडेल र डेपुटी गभर्नर किरण पण्डितलाई बाहिर राखेर कार्यकारी निर्देशकहरुसँग अर्थमन्त्री वाग्लेले छलफल गरेका हुन् । मंगलबार मात्रै अर्थमन्त्री वाग्लेले वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुसँग लामो छलफल गरेका थिए । 

देशको वित्तीय अवस्थाको गहिराइ बुझेका र मौद्रिक उपकरणको कार्यान्वयन गरिरहेका कार्यकारी निर्देशकहरुसँग अर्थतन्त्रको समस्या पहिल्याउन र समाधानको उपाय खोज्न बैठक गरिएको अर्थसचिव डा. घनश्याम उपाध्यायले बताएका छन् ।

छलफलमा अर्थमन्त्री वाग्लेले कार्यकारी निर्देशकहरुलाई ‘यो सम्भव छैन’ भन्ने मानसिकताबाट बाहिर निस्केर काम गर्न निर्देशन दिए । अबको नियमन नियन्त्रणमा सीमित भएर नवप्रवर्तनलाई रोकेर नभई प्रोत्साहन गरिरहेको छ भन्ने बोध गरि काम गर्नुपर्ने कार्यकारी निर्देशकहरुसँग आग्रह गरे । उद्योगी,-व्यवसायी र बैंकरहरुबीचको काममा देखिएको विरोधभाषपूर्ण व्यवहार सच्याउने काम राष्ट्र बैंकको भएको भन्दै अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले अहिले अवसरभन्दा बढी नीतिगत स्थिरता र छिटो निर्णयको अपेक्षा गरेकाले राष्ट्र बैंकले पनि परिस्थितिको आंकलन गरि काम गर्नुपर्नेमा जोड दिए । राष्ट्र बैंकको परम्परागत कार्यशैली र भूमिकामाथि प्रश्न उठाउँदै अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकलाई केवल जोखिम नियन्त्रण गर्ने नियामकको भूमिकामा मात्र सीमित नभई उत्पादनशील आर्थिक गतिविधि र नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने ‘सह-निर्माता’ बन्न आग्रह गरे । छलफलमा अर्थमन्त्री वाग्लेले कार्यकारी निर्देशकहरुसँग गम्भिर प्रकृतिका केही प्रूश्नहरु तेस्र्याएका छन् । जसको समाधान सम्भवतः आगामी दिनमा राष्ट्र बैंकबाट खोजिएको हुनुपर्छ ।


यस्ता छन् अर्थमन्त्री वाग्लेले गरेका केही प्रश्नहरू

- के हामी पर्याप्त आत्मविश्वासका साथ काम गरिरहेका छौँ ?

- हामीले नीतिगत रूपमा सही निर्णयहरू सहि समयमा गर्न सक्यौं कि सकेनौँ ?

- सहि समयमा सही निर्णय हुँदा पनि कार्यान्वयनसम्म पुग्दा किन अपेक्षित परिणाम आएन ?

- किन निजी क्षेत्र क्रमशः प्रतिरक्षात्मक बन्दै गयो ?

- बैंकमा तरलता पर्याप्त हुँदा पनि उद्योगमा कर्जा पुग्न नसक्नुको कारण के हो ?

- लगानीको आत्मविश्वास यति कमजोर किन भयो ?

- किन उत्पादन र उत्पादकत्वले अपेक्षित गति लिन सकेन ?

- उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह कसरी बढाउन सकिन्छ ?

- सरकारले घोषणा गरेका आर्थिक सुधारहरूलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले अब कुन-कुन नीतिगत पहल गर्नुपर्छ ?

- नेपाल राष्ट्र बैंकले आफ्नो भूमिका पुनर्परिभाषित गर्ने बेला भएको हो ? हो भने कसरी गर्छ ?

- पूँजी बजार र वास्तविक अर्थतन्त्रबीचको सम्बन्ध कमजोर बन्दै जानुको कारण के हो ?

- पर्याप्त नीतिगत स्पष्टता र निर्णय प्रक्रियामा पर्याप्त तत्परता छ कि छैन ?

- राष्ट्र बैंक समस्या समाधान गर्ने नियामक हो कि समस्या व्यवस्थापन गर्ने नियामक ?

- अहिलेको आर्थिक परिस्थितिलाई केवल जोखिम व्यवस्थापनको दृष्टिले हेर्ने कि अवसर सिर्जनाको दृष्टिले पनि हेर्ने ?

- बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग र रोजगारीमा कसरी रूपान्तरण गर्न सकिन्छ ?

- पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध कसरी निर्माण गर्न सकिन्छ ?

- मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई प्रभावकारी कसरी बनाउने ?

- डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई कसरी सहज बनाउने ?