निष्क्रिय कर्जा घटेपछि नबिल बैंकको नाफामा ३३ प्रतिशतको छलाङ, वित्तीय सूचकमा उल्लेख्य सुधार

विज्ञापन
ncell

बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा वृद्धि देखिएको छ । 

बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ रहेको थियो । यस आधारमा बैंकको नाफा वार्षिक रूपमा ३३.५० प्रतिशतले बढेको हो ।

त्यस्तै, बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको १६ अर्ब ३२ करोड रुपैयाँबाट बढेर १७ अर्ब ९२ लाख रुपैयाँ पुगेको छ । कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) अघिल्लो आर्थिक वर्षको ४ अर्ब २० करोड रुपैयाँबाट घटेर २ अर्ब ६७ करोड रुपैयाँमा झरेको छ, जसले खुद नाफा उकास्न मुख्य योगदान पुर्‍याएको छ । त्यस्तै, सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँबाट २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

नियमनकारी समायोजनहरूपश्चात् गत असार मसान्तसम्मको खुद वितरणयोग्य नाफा ४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने अघिल्लो आर्थिक वर्षको सञ्चित नाफा र असार मसान्तसम्मको समायोजन पश्चात् बैंकको कुल वितरणयोग्य नाफा ५ अर्ब १६ करोड ९१ रुपैयाँ पुगेको छ । यस अनुसार साधारण सेयरधनीहरूका आधारमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १९ रुपैयाँ १० पैसा कायम भएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको कुल सम्पत्तिको आकार ७ खर्ब ३४ अर्ब रुपैयाँ नाघेको छ । बैंकको चुक्ता पूँजी ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको छ ९जसमा ५ अर्ब रुपैयाँ बराबरको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिती अग्राधिकार सेयर समेत समावेश छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी ७१ अर्ब ९० करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा ग्राहकहरूबाट सङ्कलित निक्षेप १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति ६ खर्ब ३६ अर्ब ७८ करोडबाट १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा ४.२० प्रतिशतमा सीमित रहेको छ भने नेट एनपीए ०.५८ प्रतिशत रहेको छ । यसले बैंकले जोखिम व्यवस्थापनमा सुधार गर्दै गएको संकेत गर्छ । बैंकले नेपाल राष्ट्र बैंकको प्रुडेन्सियल नर्म्सअनुसार अपेक्षित कर्जा नोक्सानी भन्दा आवश्यक नियामकीय व्यवस्था बढी भएकाले सोही आधारमा इम्पेयरमेन्ट व्यवस्था कायम गरेको जनाएको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ३६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिसेयर कुल सम्पत्ति २ हजार ७१५ रुपैयाँ ५० पैसा पुगेको छ ।