बैंकका सीईओहरूसँग अर्थमन्त्री वाग्लेको प्रतिबद्धता: निजी क्षेत्रको आत्मविश्वास फर्काउन बैंकिङ क्षेत्रसँग सहकार्य हुन्छ

विज्ञापन
ncell

उनले अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञान बैंकिङ क्षेत्रले प्रत्यक्ष रूपमा अनुभव गर्ने भएकाले बजेट कार्यान्वयन, लगानी विस्तार तथा आर्थिक गतिविधि चलायमान बनाउन बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने बताए ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउँदै निजी क्षेत्रको घट्दो आत्मविश्वास पुनर्स्थापित गर्न सरकार र बैंकिङ क्षेत्रबीचको सहकार्यलाई थप सुदृढ बनाइने बताएका छन् । मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट मार्ग तय भइसकेको उल्लेख गर्दै अबको मुख्य चुनौती प्रभावकारी कार्यान्वयन रहेको बताए ।

उनले अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञान बैंकिङ क्षेत्रले प्रत्यक्ष रूपमा अनुभव गर्ने भएकाले बजेट कार्यान्वयन, लगानी विस्तार तथा आर्थिक गतिविधि चलायमान बनाउन बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने बताए । छलफलका क्रममा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रमा देखिएका केही विरोधाभासपूर्ण अवस्थाप्रति चासो व्यक्त गर्दै यस्ता संरचनागत समस्या समाधानका लागि मौद्रिक नीति, नियमन र सुपरीवेक्षणमा नयाँ दृष्टिकोण आवश्यक रहेको औंल्याए। उनले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

छलफल केवल समस्या पहिचानमा सीमित नहुने स्पष्ट पार्दै उनले प्राप्त सुझावहरूलाई कार्यान्वयनयोग्य नीतिगत मार्गचित्रमा रूपान्तरण गरिने आश्वासन दिए । अर्थमन्त्री वाग्लेले सरकारको लक्ष्य अर्थतन्त्रलाई प्रतिक्रियात्मक अवस्थाबाट बाहिर निकालेर आत्मविश्वासपूर्ण र भविष्यप्रति आशावादी बनाउनु रहेको बताए । नेपाललाई उच्च आर्थिक वृद्धि र उत्पादकत्वको नयाँ चरणमा प्रवेश गराउन बैंकिङ क्षेत्रलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदारको भूमिका निर्वाह गर्न समेत उनले आग्रह गरे ।