बजारमा ग्यास अभाव छैन, वितरण प्रणालीको समस्याले हल्ला फैलियो : आयल निगम

विज्ञापन
ncell

उनले नेपालमा ग्यासको माग प्रतिमहिना करिव ४७ हजार मेट्रिक टन भएको उल्लेख गर्दै हाल भारतबाट ५५ हजार मेट्रिक टन ग्यास आयात गर्ने गरिएको जानकारी दिए ।

काठमाडौं । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक ई.दीपक बरालले बजारमा हल्ला भएअनुसार एलपी ग्यास अभाव नभएको दाबी गरेका छन् । प्रतिनिधि सभाअन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले ग्यास वितरण प्रणालीमा देखिएको समस्याका कारण ग्यास अभाव सिर्जना भएको देखिएको दाबी गरेका हुन् । उनले नेपालमा ग्यासको माग प्रतिमहिना करिव ४७ हजार मेट्रिक टन भएको उल्लेख गर्दै हाल भारतबाट ५५ हजार मेट्रिक टन ग्यास आयात गर्ने गरिएको जानकारी दिए । उनकाअनुसार सामान्य खपतको तुलनामा करिव ५ प्रतिशत बढी ग्यास नेपाल भित्रिएको छ । उनले विगतमा आधा ग्यास सिलिण्डर वितरण गरिएको र हाल पूर्ण ग्यास वितरण गर्दा समस्या उत्पन्न भएको बताए । ७.१ केजीका सिलिण्डरको आपूर्ति हुँदा उपभोक्ताले खाली सिलिण्डर घरमै थन्क्याउने गरेको र १४.२ केजीका सिलिण्डर आएपछि आवश्यकताभन्दा बढी भर्ने गरेका कारण बजारमा कृत्रिम चाप सिर्जना गरेको उनको दाबी छ । उनले निगमले ग्यास डिपोहरुलाई घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न पनि निर्देशन दिएको जानकारी दिए । ग्यास नपाएको गुनासो बढेपछि निगमले टेकुस्थित कार्यालयबाट विभिन्न ग्यास कम्पनीका सिलिण्डर खुद्रा विक्री सुरु गरेको उनको भनाई छ । पछिल्ला तीन दिनमा त्यहाँबाट करिव २ हजार १०० सिलिण्डर मात्रै विक्री गरिएको उनले जानकारी दिए । यसले पनि बाहिर बजारमा हल्ला गरिएजस्तो ग्यास अभाव नभएको कुरालाई पुष्टी गर्ने उनको भनाई छ । यद्यपि निगमले ग्यास वितरण प्रक्रियालाई सहज बनाउन बजार अनुगमन लगायतका कार्य गरिरहेको जानकारी दिए । उनले उपभोक्तालाई पनि आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक सञ्चिति नगर्न आग्रह समेत गरे ।

उनकाअनुसार हाल भारतबाट दैनिक ग्यास बुलेटको लोडिङ बढाइएको छ । तर हल्दिया र दुर्गापुर डिपोमा मर्मत कार्य चलिरहेका कारण टाढाका डिपोबाट ग्यास ल्याउनुपर्दा ढुवानी व्यवस्थापनमा चुनौती थपिएको उनले जानकारी दिए । निगमले भारतसँग दैनिक बुलेट लोडिङ बढाउन समन्वय गरिरहेको उनले बताए । उनले अझै १५ दिनसम्म ग्यास वितरणमा केही समस्या देखिन सक्ने बताए ।