प्रधानमन्त्रीले संसदलाई अपमानित र अपहेलित गरेः नेकपा सांसद शर्मा
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले प्रधानमन्त्री बालेन्द्र साहले सार्वभौम संसदलाई अपमानित र अपहेलित गरिरहेको आरोप लगाएकी छन्।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शर्माले राष्ट्रियताको सवालमा प्रतिपक्षी दलले उठाएका प्रश्नलाई नजरअन्दाज गरेर प्रधानमन्त्री साहले संसदलाई अपहेलित गर्ने कार्य गरिरहेको गम्भीर आरोप लगाएकी हुन् ।
उनले प्रधानमन्त्री साहले सीमाको विषयमा राष्ट्रघाती अभिव्यक्ति दिएको दुई महिना बितिसक्दा समेत संसदमा जवाफ नदिएको भन्दै आपत्ति जनाइन् । उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म संसदमा पार्टीको विरोध जारी रहने चेतावनी दिइन्। फरक विषयमा बोल्दै सांसद शर्माले सुनसरीको देवानगञ्जमा भएको घटनापछि मधेशभर फैलिएको साम्प्रदायिक तनाव जिम्मेवार राजनीतिक दल, नागरिक समाज र सरकारको पहलमा नियन्त्रण उन्मुख भएको बताइन् ।
उनले घटनामा मृत्यु भएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन तथा घाइतेहरुको निःशुल्क उपचार गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् । उनले मुलुकमा विभिन्न समयमा हुने धार्मिक तथा साम्प्रदायिक तनाव हुन नदिन सरकार सचेत हुनुपर्नेमा जोड दिइन् ।
