सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गरेको विषयमा एमालेले माग्यो सरकारसँग जवाफ
काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेकपा (एमाले)ले सरकारसँग जवाफ माग गरेको छ ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले भारतीय सेनाले सिभिल डे्रस लगाएर नेपाली भूमिमा प्रवेश गरेको भन्दै सरकारसँग जवाफ माग गरेका हुन् । उनले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकमा असुरक्षा र मुलुकको स्वाभिमानमा चोट पुग्दा समेत सरकार मौन बसिरहेकोप्रति आपत्ति जनाए ।
उनले सीमा सुरक्षाको विषयमा अझै कति समय संसदमा ध्यानाकर्षण गराउनुपर्ने हो? भन्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न समेत गरे । सीमा सुरक्षाको विषयमा जिम्मेवारपूर्ण भुमिका निर्वाह गर्न समेत सरकारलाई आग्रह गरे ।
सांसद बरालले सुनसरीमा भएको धार्मिक तथा सम्प्रदायिक तनाव उत्पन्न हुनुको कारण र सुरक्षा कमजोरीको विषयमा निष्पक्ष छानविन गर्न समेत माग गरे ।
