'सेना' नामका समूह निषेध गर्न सरकारलाई हर्क साम्पाङको आग्रह
काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ठाउँ ठाउँमा सेना गठन गर्ने छुट कसले कसलाई दिएको हो भन्दै प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद साम्पाङ्गले सेना गठन गर्न पाउने मापदण्ड के-के हुन्, त्यो मापदण्ड पुरा गरेर क-कसले सेना गठन गर्न पाउने हो भन्दै संसदमार्फत सरकारलाई प्रश्न गरेका छन् । साउन ५ गते आफ्ना कार्यकर्ता जनकपुर जाँदा अज्ञात समूहले हातपात समेत गरेको बताउँदै उनले यसबारेमा आफूले गृहमन्त्रीलाई फोन गरेरै जानकारी गराएको तर, कारवाहीको प्रक्रिया कहाँ पुग्यो भन्नेबारे कुनै जानकारी नभएको बताए ।
सांसद राईले देशमा एउटै मात्र सेना रहनु पर्छ भन्ने हो भने सरकारले विभिन्न नाममा रहेका सेनालाई निषेध गर्नुपर्ने बताए । उनले त्यस्ता सेना नामका समूहहरुसँग सरकारले वार्ता पनि गर्न नहुने बताए । देशमा धेरै समस्याहरु रहेको बताउँदै सांसद राईले ती समस्याहरुलाई सरकारले धेरै गम्भीर भएर हेर्नुपर्ने बताएका छन् ।
