सुनसरी घटनाका थप एक घाइतेको उपचारका क्रममा मृत्यु

विज्ञापन
ncell

कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु भएसंगै मृतकको संख्या ३ पुगेको हो।

काठमाडौं ।  सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । कप्तानगञ्जमा भएको घटनामा गोली लागेर घाइते भएका थप एक जनाको मृत्यु भएसंगै मृतकको संख्या ३ पुगेको हो। 

मृत्यु हुनेमा साउन १० गते दुई पक्षीय झडपमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगञ्ज-३ का २१ वर्षीय रवीन्द्रकुमार मेहता हुन् । बायाँ तिघ्रामा गोली लागेर गम्भीर घाइते रवीन्द्रकुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो । टिचिङमा उपचारका क्रममा रवीन्द्रको बायाँ खुट्टा समेत काटिएको थियो ।

देवानगञ्जमा दुई समुदायबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये देवानगञ्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो । देवानगञ्ज(३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार दिउँसो न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।