सिद्धार्थ बैंकको खुद नाफा साढे ३ अर्ब नाघ्यो, अरु सूचक कस्ता ?
बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ७० करोड ५६ लाख ७१ हजार रुपैयाँ रहेको छ । साधारण सेयरधनीहरूका लागि बैंकको प्रतिसेयर वितरणयोग्य नाफा ११ रुपैयाँ ५३ पैसा कायम भएको छ । कैपिटल एड्जस्टमेन्ट रिजर्भ समायोजन गर्दा यस्तो क्षमता २६ रुपैयाँ १५ पुग्ने विवरणमा उल्लेख छ ।
काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकले ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५४ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३६ करोड नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड ११ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, फि तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड रुपैयाँबाट बढेर १ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ कायम भएको छ भने सञ्चालन नाफा अघिल्लो वर्षको ४ अर्ब ९७ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ ।
बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ७० करोड ५६ लाख ७१ हजार रुपैयाँ रहेको छ । साधारण सेयरधनीहरूका लागि बैंकको प्रतिसेयर वितरणयोग्य नाफा ११ रुपैयाँ ५३ पैसा कायम भएको छ । कैपिटल एड्जस्टमेन्ट रिजर्भ समायोजन गर्दा यस्तो क्षमता २६ रुपैयाँ १५ पुग्ने विवरणमा उल्लेख छ ।
बैंकको वासलातको आकार ३ खर्ब ८९ अर्ब रुपैयाँ नाघेको छ । बैंकको साधारण चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार र अविमोच्य असञ्चिति अग्राधिकार सेयर ३ अर्ब ५० करोड रुपैयाँ गरी कुल चुक्ता पूँजी १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ रहेको छ । सञ्चित नाफा र अन्य जगेडा कोष गरी कुल कोष १८ अर्ब ६२ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि २२.७६ रुपैयाँबाट बढेर २३.०६ रुपैयाँ पुगेको छ, जसले सेयरधनीका लागि थप सकारात्मक सन्देश दिएको छ । साथै बैंकको आधार दर ६.४२ प्रतिशतबाट घटेर ५.०२ प्रतिशतमा झरेको छ, जसले आगामी दिनमा सस्तो कर्जा र थप कर्जा विस्तारको सम्भावना देखाउँछ । यद्यपि खराब कर्जा भने ०.६६ प्रतिशतबाट बढेर १.०६ प्रतिशत पुगेको छ ।
ग्राहकहरूबाट सङ्कलित निक्षेप २ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँबाट बढेर ३ खर्ब २७ अर्ब १ करोड रुपैयाँ पुगेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा २ खर्ब १४ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २ खर्ब ३३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल सम्पत्ति ३ खर्ब ३८ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ३ खर्ब ८९ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ ।
