ग्यास अभावले बजार अस्तव्यस्त, आवश्यकताभन्दा बढी सञ्चय नगर्न प्रशासनको आग्रह
ग्यास व्यवसायीहरूले भने उपभोक्ताको अत्यधिक भण्डारण (होर्डिङ) का कारण बजारमा अभाव चुलिएको बताएका छन् ।
देशभर एलपी ग्यासको अभाव देखिएसँगै सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । पोखरा क्षेत्रमा पनि ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर डिपोहरूमा लामो लाइन बस्न बाध्य भएका छन् । बजारमा देखिएको यो असहज परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमनलाई तीव्र पारेको छ ।
यसैक्रममा, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा पोखरास्थित प्रमुख ग्यास विक्रेता ‘चेरिस्मा इम्पोरियम’ मा छड्के अनुगमन गरिएको छ । अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी बरालले बाहिरका कम्पनीहरूले मागअनुसारको ग्यास नपठाउँदा केही समय आपूर्तिमा समस्या देखिएको स्वीकार गरे । बरालले बजारमा ग्यासको अभाव नहुने भन्दै उपभोक्तालाई त्रसित नहुन र आवश्यकताभन्दा बढी सञ्चय नगर्न आग्रह गरे । उनले आगामी दुई-तीन दिनभित्रै बजारमा ग्यासको आपूर्ति पूर्णतः सहज हुने दाबी समेत गरे ।
यता, ग्यास व्यवसायीहरूले भने उपभोक्ताको अत्यधिक भण्डारण (होर्डिङ) का कारण बजारमा अभाव चुलिएको बताएका छन् । चेरिस्मा इम्पोरियमकी सञ्चालक सीता बरालकाअनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको युद्धको हल्ला र अभाव हुने डरले गर्दा उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चय गरेका छन् । उहाँले व्यवसायीहरूमा भन्दा पनि उपभोक्ताकै तहमा धेरै ग्यास सञ्चित रहेको दाबी गरिन् ।
उनले भनिन्, ‘हामीले ग्यास लुकाएका छैनौँ, आपूर्ति हुनासाथ वितरण गरिरहेका छौँ । केही उपभोक्ताले ४-५ वटासम्म सिलिण्डर स्टक राख्नुभएको छ, जसले गर्दा वास्तविक आवश्यक भएकाहरूले ग्यास पाउन सकेका छैनन् ।’
जिल्ला प्रशासन कार्यालयले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्नेमाथि कडा निगरानी राखिने जनाएको छ । आपूर्ति व्यवस्थालाई नियमित बनाउन प्रशासनले व्यवसायी र ग्यास विक्रेता संघसँग निरन्तर समन्वय गरिरहेको छ ।
