२७ लाख बढी सवारी चालक अनुमति पत्र छपाइ सम्पन्न
विभागले आज एक विज्ञप्ति जारी गर्दै असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स छापिएको जानकारी दिएको हो ।
काठमाडौं । यातायात व्यवस्था विभागले साढे २७ लाख सवारी चालक अनुमति पत्र छपाइ सम्पन्न भएको जनाएको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै लाइसेन्स छापिएको जानकारी दिएको हो ।
२७ लाख ४७ हजार २५३ थान कार्ड हुलाकमार्फत वितरणका लागि सम्बन्धित यातायात कार्यालयमा पठाइएको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ । १२ कात्तिक २०८२ मा विभाग र सुरक्षण मुद्रण केन्द्रबीचको सम्झौता अनुसार लाइसेन्स छाप्ने कामले तीव्रता पाएको हो ।
विभागका अनुसार अहिले म्याद सकिन एक वर्ष भन्दा कम अवधि भएका लाइसेन्स भने छापिएको छैन । यस्ता लाइसेन्सको नवीकरणपछि १० वर्ष अवधिको लाइसेन्स प्राप्त हुने भन्दै विभागले एक वर्ष भन्दा कम अवधि भएका लाइसेन्स बाहकलाई पायक पर्ने यातायात कार्यालयमा नवीकरण गर्न समेत अनुरोध गरेको छ ।
विभागले नयाँ लाइसेन्स प्राप्ति र नवीकरणमा राष्ट्रिय परिचय पत्रमा भएको विवरण प्राप्त गर्न, राजस्व भुक्तानी अनलाइनमार्फत गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
