सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल
राष्ट्रपति पौडेलले सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् ।
काठमाडौं । मधेशका विभिन्न ठाउँमा देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम अपिल गरेका छन् ।
राष्ट्रपतिले एक अपिल जारी गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा भएको बताएका छन् ।
‘यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु ’ उनले भनेका छन् ।
राष्ट्रपति पौडेलले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले अपिलमा भनेका छन्,लेखेका छन्-‘यो कठिन अवस्थामा स्थितिलाई थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपिल गर्दछु ।’
घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबैलाई सचेत हुन उनले आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले सो घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन् ।
