फेरिएको नेपाली श्रमिकको गन्तव्यः खाडी मुलुक छोडेर मलेसिया र रोमानियातर्फ केन्द्रित

विज्ञापन
ncell

किन आयो यस्तो परिवर्तन?

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको गन्तव्यमा उल्लेख्य परिवर्तन देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको ११ महिनाको तथ्यांकले परम्परागत खाडी मुलुकको तुलनामा मलेसियाप्रति नेपाली श्रमिकको आकर्षण तीव्र रूपमा बढेको देखाएको छ । राम्रो तलब–सुविधा, नेपालको जस्तै मौसम, विभिन्न क्षेत्रमा रोजगारी खुल्नु तथा मध्यपूर्वमा बढ्दो भूराजनीतिक तनावका कारण मलेसिया फेरि नेपाली श्रमिकको प्रमुख रोजाइ बनेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार ११ महिनामा सबैभन्दा धेरै १ लाख ४८ हजार ९ सय ४९ नेपाली संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन् । त्यसपछि मलेसिया १ लाख ११ हजार ३ सय ६३, कतार १ लाख ९ हजार ३ सय ९०, साउदी अरेबिया १ लाख ६ हजार ४ सय ३२, कुवेत ३५ हजार ६ सय ५३, रोमानिया २८ हजार १३, जापान १९ हजार २ सय ७, साइप्रस ९ हजार ३ सय १, ओमान ९ हजार ६ सय ५० र टर्की ५ हजार ८२ नेपाली श्रमिकको गन्तव्य बनेका छन् । यद्यपि कुल संख्यामा यूएई पहिलो स्थानमा रहे पनि पछिल्ला महिनाको प्रवृत्तिले मलेसियाले तीव्र गति लिएको देखाउँछ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिका कारण असोज महिनामा वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको विवरण विभागले छुट्टै राखेको छैन ।

मलेसियाको यात्रा हेर्दा साउन र भदौमा पाँच हजारको हाराहारीमा सीमित रहेको नेपाली श्रमिकको संख्या कात्तिकदेखि एकाएक बढ्न थालेको देखिन्छ । कात्तिकमा झण्डै १० हजार पुगेको संख्या त्यसपछि निरन्तर बढ्दै माघमा १० हजार नाघ्यो, फागुनमा १२ हजार पार गर्यो र चैतमा सबैभन्दा धेरै १८ हजार ६ सय ४९ पुगेको थियो । वैशाखमा पनि १७ हजारभन्दा बढी नेपाली मलेसिया पुगेका छन् भने जेठमा समेत १४ हजारभन्दा बढी श्रमिक त्यहाँ गएका छन् । यसले पछिल्ला महिनामा नेपाली श्रमिकको रोजाइ स्पष्ट रूपमा मलेसियातर्फ मोडिएको संकेत गर्छ ।

यूएईमा भने ठीक उल्टो प्रवृत्ति देखिएको छ । साउन र भदौमा क्रमशः करिब २४ हजार र २५ हजार नेपाली पुगेका यूएईमा त्यसपछि श्रमिकको संख्या लगातार घट्दै गयो । कात्तिकमा १३ हजारमा झरेको संख्या मंसिर र पुसमा १० हजारभन्दा तल झर्यो । माघपछि केही सुधार देखिए पनि यूएईले अघिल्लो वर्षजस्तो आकर्षण कायम राख्न सकेन । पछिल्ला अधिकांश महिनामा मलेसियाले यूएईलाई उछिनेको तथ्यांकले देखाउँछ ।

कतारमा पनि पछिल्ला महिनामा सुस्तता देखिएको छ । आर्थिक वर्षको सुरुआतमा मासिक १२–१३ हजार नेपाली पुग्ने कतारमा फागुन र चैतमा संख्या उल्लेख्य रूपमा घटेर ७ हजारभन्दा तल झर्यो। वैशाख र जेठमा केही सुधार आए पनि अघिल्लो महिनाको लय फर्किन सकेको छैन ।

साउदी अरेबियाको अवस्था पनि उस्तै छ । कात्तिकमा झण्डै १६ हजार नेपाली पुगे पनि त्यसपछि प्रत्येक महिना संख्या घट्दै गएको देखिन्छ । माघसम्म ११ हजारको हाराहारीमा रहेको संख्या फागुनदेखि ७ हजारभन्दा तल झरेको छ । पछिल्ला महिनामा साउदीप्रतिको आकर्षण कमजोर बन्दै गएको तथ्यांकले देखाउँछ ।

युरोपेली गन्तव्यमध्ये रोमानियाले भने निरन्तर आकर्षण बढाइरहेको छ । सुरुवाती महिनामा एकदेखि दुई हजारको हाराहारीमा रहेको संख्या माघदेखि तीन हजार नाघेको छ भने चैतमा चार हजारभन्दा बढी नेपाली रोमानिया पुगेका थिए । यसले नेपाली श्रमिकको रोजाइ खाडीबाट युरोपतर्फ पनि विस्तार हुन थालेको संकेत गर्छ ।

कुवेतमा जाने नेपालीको संख्या भने मिश्रित देखिएको छ । अधिकांश महिनामा चारदेखि पाँच हजार नेपाली पुगे पनि चैतमा जम्मा एक जना मात्र श्रमिक पुगेको विभागको तथ्यांकमा उल्लेख छ । त्यसपछि वैशाखमा फेरि संख्या बढे पनि जेठमा पुनः घटेको छ ।

जापानले भने स्थिर गन्तव्यको रूपमा आफ्नो स्थान कायम राखेको छ । अधिकांश महिनामा करिब दुई हजार नेपाली श्रमिक जापान पुगेका छन् । संख्या घटबढ भए पनि अन्य मुलुकमा जस्तो ठूलो उतारचढाव देखिँदैन ।

साइप्रस र ओमानमा पनि उल्लेख्य वृद्धि देखिँदैन । साइप्रसमा मासिक करिब ८ सयदेखि १ हजार २ सयसम्म र ओमानमा ७ सयदेखि १ हजार ५ सयसम्म नेपाली श्रमिक पुगेका छन् । पछिल्ला महिनामा भने ओमानमा जाने संख्या केही घटेको देखिन्छ ।

टर्कीमा भने वैशाखमा मात्रै अस्वाभाविक वृद्धि देखिएको छ । अन्य महिनामा दुई सयदेखि पाँच सयको हाराहारीमा सीमित रहेको संख्या वैशाखमा एकैचोटि १ हजार ५ सय नाघेको थियो । जेठमा भने फेरि सात सयको हाराहारीमा झरेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव डिकबहादुर खत्रीका अनुसार मलेसियातर्फ नेपाली श्रमिकको आकर्षण बढ्नुमा तुलनात्मक रूपमा राम्रो तलब–सुविधा, नेपालको जस्तै मौसम तथा पछिल्लो समय विभिन्न क्षेत्रमा श्रमिक लैजान अनुमति खुलाइनु प्रमुख कारण हुन् । “केही समयअघि उत्पादनमूलक ९म्यानुफ्याक्चरिङ० क्षेत्रमा श्रमिक पठाउने अनुमति सीमित हुँदा माग कम थियो । अहिले विभिन्न क्षेत्रका लागि अनुमति खुला भएपछि नेपाली श्रमिकको माग र आकर्षण दुवै बढेको छ,” उनले भने । उनका अनुसार मलेसियामा तुलनात्मक रूपमा राम्रो आम्दानी हुने भएकाले पनि धेरै श्रमिकको रोजाइ त्यतैतर्फ मोडिएको हो ।

खत्रीका अनुसार यूएईमा नेपाली श्रमिकको संख्या घट्नुको मुख्य कारण मध्यपूर्व क्षेत्रमा बढ्दो भूराजनीतिक तनाव, अस्थिरता र युद्धजन्य अवस्था हो । “लगानीकर्ताले आफ्नो लगानी, व्यवसाय र कामदारको सुरक्षालाई प्राथमिकता दिने भएकाले नयाँ परियोजनामा लगानी कम भएको छ । केही सञ्चालनमा रहेका परियोजनासमेत प्रभावित भएका छन्, जसका कारण यूएईमा रोजगारीका अवसर खुम्चिएका छन्,” उनले भने ।

उनले आगामी दिनमा साउदी अरेबिया जाने नेपाली श्रमिकको संख्या पनि घट्न सक्ने बताए । उनका अनुसार स्किल भेरिफिकेसन प्रोग्राम (एसभीपी), एसडीपी लगायतका प्रमाणीकरण प्रक्रियाले स्वास्थ्य परीक्षण, बायोमेट्रिक तथा अन्य प्रक्रियामा अतिरिक्त खर्च थपिदिएको छ । “भर्ती प्रक्रिया महँगो र झन्झटिलो बन्दै जाँदा साउदीप्रति श्रमिकको आकर्षण घट्न सक्छ,” उनले बताए ।

खत्रीका अनुसार पछिल्लो समय सेन्जेन तथा नन–सेन्जेन युरोपेली मुलुक, साथै पूर्वी र पश्चिमी बाल्कन क्षेत्र पनि नेपाली श्रमिकका नयाँ आकर्षक गन्तव्यका रूपमा उदाइरहेका छन् । “तर ती मुलुकमा अधिकांश नेपाली संस्थागत प्रक्रियाभन्दा व्यक्तिगत प्रयासबाट गइरहेका छन् । त्यसलाई व्यवस्थित र संस्थागत बनाउन आवश्यक छ,” उनले भने ।

यता वैदेशिक रोजगार विभागकी सूचना अधिकारी बिन्दा आचार्यले भने श्रमिकहरू रोजगारीका अवसर उपलब्ध हुने मुलुकतर्फ जानु स्वाभाविक प्रक्रिया भएको बताइन् । “श्रमिकहरू आफूलाई अनुकूल लाग्ने तथा रोजगार सुनिश्चित हुने गन्तव्य रोज्छन् । मलेसियामा आकर्षण बढ्नु वा यूएईमा संख्या घट्नुमा अन्तर्राष्ट्रिय द्वन्द्व वा अन्य विशेष कारणको प्रभाव छ कि छैन भन्ने विषयमा विभागले कुनै विश्लेषण गरेको छैन,” उनले स्पष्ट पारिन् । उनले विभागले तथ्यांक संकलन गर्ने भए पनि श्रमिकको गन्तव्य परिवर्तनका कारणबारे छुट्टै अध्ययन नगरेको बताइन् ।

खाडी मुलुक मलेसिया भन्दा पनि युरोपमा जाँदा सुरुमै तलब बढी पाइने, अझ राम्रो प्रयास गरे सेन्जेन देशहरूमा पीआर लिन सकिने र कतिपय अवस्थामा तोकिएको अवधि पूरा गरेर रोजगारीका लागि पनि सपरिवार जान सक्ने सुविधाका कारण श्रमिकहरू लाखौं रुपैयाँ खर्चिएर त्यसतर्फ जाने गरेका छन् । युरोपियन मुलुकमा संस्थागत पहल नहुँदा व्यक्तिगत जानेका लागि प्रयास गर्दा कतिपय श्रमिकहरूको लाखौं रुपैयाँ फस्ने गरेको समेत पाइन्छ । रोजगार अनुमति दिएका युरोपियन मुलुकमा नेपाली कामदार पठाउँदा राज्य स्तरले नै भूमिका खेलेको खण्डमा धेरै नेपाली ठगिनबाट बच्ने म्यानपावर व्यवसायीहरूको भनाइ छ ।

मुलुकमा सहज तरिकाले रोजगारी सिर्जना नहुँदा र काम पाइएका बखत पनि क्षमता तथा योग्यता अनुसारका काम र सेवा सुविधा नपाउँदा धेरै युवा युवतीहरू बढी आम्दानीको लोभमा युरोप, कुवेत, जापान, ओमान जस्ता देशहरूमा लाखौं खर्चेर अवैध बाटोबाट समेत जाने गरेको पाइन्छ जसको रेकर्ड वैदेशिक रोजगार विभागमा समेत हुँदैन । त्यस्ता श्रमिकहरू भिजिट भिसा र अन्य प्रकृतिका सहज बाटो पहिल्याउँदै अवैध रूपमा रोजगारी खोज्दै विदेशिने गरेका छन् ।