भेनेजुएलाको भूकम्पमा ज्यान गुमाउनेको संख्या ९२० पुग्यो
भूकम्पबाट हालसम्म ३८३ भवन, १३ अस्पताल, २५ वटा किनमेल केन्द्र र १ हजार २ अन्य संरचनामा क्षति पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।
काठमाडौँ । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ९२० पुगेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजले दिएको जानकारीअनुसार ३ हजार ३६० जना घाइते भएका छन् भने १७२ जना अझै पनि भत्किएका भवनको भग्नावशेषमा फसिरहेका छन् । भूकम्पबाट हालसम्म ३८३ भवन, १३ अस्पताल, २५ वटा किनमेल केन्द्र र १ हजार २ अन्य संरचनामा क्षति पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । सबैभन्दा बढी प्रभावित ला गुआइरा क्षेत्रमा सेना परिचालन गरिएकाले त्यहाँ अनावश्यक यात्रा नगर्न सरकारको आग्रह छ ।
रोड्रिगेजले घाइतेको उद्धार र उपचारका लागि प्रयोग भइरहेका सडकमा अत्यधिक भीड बढेकाले सर्वसाधारणलाई सडक खाली राखेर उद्धार टोलीलाई सहयोग गर्न अपिल गरेका छन् ।
उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन मेक्सिको, अमेरिका, एल साल्भाडोर, स्विट्जरल्यान्ड, कोलम्बियालगायत विभिन्न देशबाट ८६१ अन्तर्राष्ट्रिय स्वयंसेवक भेनेजुएला पुगेका छन् । आगामी दिनमा थप उद्धारकर्मी पनि आउने अपेक्षा गरिएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वका विभिन्न देशबाट करिब १ हजार आपत्कालीन उद्धारकर्मी २५ वटा खोज तथा उद्धार टोलीमार्फत प्रभावित क्षेत्रमा परिचालन भइरहेका छन् । मुख्य राजमार्गबाट सेना, उद्धार टोली, डम्प ट्रक र भारी उपकरण प्रभावित क्षेत्रमा निरन्तर पठाइँदै छ।
सरकारले सबै आपत्कालीन सेवा सबैभन्दा बढी प्रभावित ला गुआइरा क्षेत्रमा केन्द्रित गरेको जनाएको छ । ताचिरा राज्यबाट ४५ जना अग्निनियन्त्रक, एउटा तालिमप्राप्त खोजी कुकुर तथा आवश्यक उद्धार उपकरणसहितको टोली पनि परिचालन गरिएको छ ।
यसैबीच, अमेरिकी वित्त मन्त्रालयले राहत सामग्री र आर्थिक सहयोग सहज बनाउन केही प्रतिबन्धमा अस्थायी छुट दिएको छ । यद्यपि प्रभावित क्षेत्रमा ठूलो परिमाणमा रहेको भग्नावशेष र सीमित स्रोतसाधनका कारण उद्धार कार्य अझै चुनौतीपूर्ण बनेको अधिकारीहरूले बताएका छन् ।