अमेरिकामा हवाई सेवा संकट कायमै, सयौं उडान प्रभावित
शनिबारसम्म ६ हजार १५० भन्दा बढी उडान रद्द र ७ हजार ३०० भन्दा बढी उडान ढिलाइ भएका थिए । आइतबारका लागि निर्धारित ५३० भन्दा बढी उडानसमेत रद्द गरिएको छ ।
काठमाडौं । अमेरिकामा हवाई यातायात प्रणालीमा आएको प्राविधिक समस्याका कारण उडान सेवा प्रभावित हुने क्रम जारी रहेको छ । शुक्रबारदेखि सुरु भएको संकटका कारण २० हजारभन्दा बढी उडान रद्द तथा ढिलाइ भएका छन् भने हजारौँ यात्रु विमानस्थलमै अलपत्र परेका छन् ।
अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) को हवाई यातायात सञ्चार प्रणालीमा आएको खराबीका कारण शुक्रबार देशभर करिब पाँच घण्टा उडान रोकिएको थियो । शनिबारसम्म ६ हजार १५० भन्दा बढी उडान रद्द र ७ हजार ३०० भन्दा बढी उडान ढिलाइ भएका थिए । आइतबारका लागि निर्धारित ५३० भन्दा बढी उडानसमेत रद्द गरिएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार सरकारी ठेकेदार कम्पनी एलथ्री ह्यारिसले सञ्चार प्रणालीमा पुराना तामाका तारलाई आधुनिक फाइबर अप्टिक प्रणालीले प्रतिस्थापन गर्ने क्रममा जडान गरेको राउटरमा समस्या आएको आशङ्का गरिएको छ । उक्त राउटरले प्रत्येक चारदेखि पाँच सेकेन्डमा एक हजारभन्दा बढी पटक सम्पर्क प्रयास गर्दा हवाई सञ्चार र राडार सूचनामा असर परेको बताइएको छ ।
यातायातमन्त्री सिन डफीले प्राविधिक समस्याको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताएका छन् । एफएएका प्रमुख ब्रायन बेडफोर्डले आइतबार रातिसम्म उडान सेवा पूर्ण रूपमा सामान्य हुने सम्भावना कम रहेको जनाउँदै यात्रुसँग माफी मागेका छन् ।
यस घटनाले अमेरिकाको पुरानो हवाई यातायात सञ्चार प्रणालीको कमजोरीसमेत उजागर गरेको छ । अधिकारीहरूले आइतबार रातिसम्म अधिकांश उडान सेवा सामान्य अवस्थामा फर्कने अपेक्षा गरे पनि त्यसको सुनिश्चितता भइसकेको छैन ।