नेप्सेमा लगातार तेस्रो दिन गिरावट: परिसूचक १४.४५ अंकले घट्दा कारोबार रकम भने बढ्यो
आज नेप्से परिसूचक १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा झरेको छ । आज ४ अर्ब ४१ करोड ८६ लाख रुपैँया खरिदबिक्री भएको छ ।
काठमाडौँ । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक घटेको छ । १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१० प्रशित घटेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ४१ करोड ८६ लाख रुपैँया खरिदबिक्री भएको छ ।
टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, भुजुङ्ग हाइड्रोपावरको सेयरमूल्य साढे १४ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको सोपान फर्मास्यूटिकल्सको सेयरमूल्य आज सर्वाधिक ५.०५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २९ करोड ६२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोपान फर्मास्यूटिकल्सको कारोबार रकम १७ करोड रुपैयाँ नाघेको छ । बुधबार कारोबारमा आएकामध्ये ६४ कम्पनीको सेयर मूल्य बढ्दा २०० कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य भने स्थिर छ ।