सार्वजनिक सवारी दर्ता आंशिक खुला, जेठ ८ अघि एलसी खोलेका गाडीले मात्रै अनुमति पाउने

सार्वजनिक सवारीसाधन दर्तामा रोक लगाएको ठिक एक महिनापछि यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म एलसी खोलिएका गाडी दर्ता गर्ने निर्णय गरेको हो ।

काठमाडौँ । यातायात व्यवस्था विभागले अनिश्चितकालका लागि रोकिएको सार्वजनिक सवारी साधन दर्ता आंशिक रूपमा खुला गरेको छ । एलसी खोलेर प्रक्रिया अघि बढिसकेका तथा नेपाल भित्रिसकेका सार्वजनिक सवारी साधनको हकमा मात्र दर्ता प्रक्रिया अघि बढाउन सकिने निर्णय गरिएको हो । सार्वजनिक सवारीसाधन दर्तामा रोक लगाएको ठिक एक महिनापछि यातायात व्यवस्था विभागले जेठ ८ गतेसम्म एलसी खोलिएका गाडी दर्ता गर्ने निर्णय गरेको हो ।

विभागले सोमबार सातै प्रदेशका यातायात कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘अन्य व्यवस्था यथावत राखी २०८३ जेठ ८ गतेसम्म प्रतीतपत्र ९एलसी० खोली सार्वजनिक सवारी साधन ल्याउन तथा दर्ता प्रक्रिया अघि बढाइ सकेका सवारी साधनका आयातकर्ता कम्पनीलाई सम्बन्धित कागजात पेस गर्न लगाई सोही अनुरुप देखिएमा ती सार्वजनिक सवारी साधन दर्ता गर्न कुनै बाधा नपर्ने व्यहोरा निर्णय अनुसार अनुरोध छ।’

यसअघि सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन नहुँदा वायु प्रदूषण, सडकमा सवारी चाप र ट्राफिक जाम बढेको भन्दै विभागले गत वैशाख ७ गते सार्वजनिक सवारी दर्ता रोक्का गर्न सबै प्रदेश र स्थानीय तहलाई पत्राचार गरेको थियो ।

तर रोक्का निर्णयपछि केही प्रदेशहरूले आ-आफ्नै स्तरमा फरक नीति अपनाएका थिए । विशेषगरी बागमती प्रदेशले संघीय निर्णयको अवज्ञा गर्दै सार्वजनिक सवारी दर्ता जारी राख्ने निर्णय गरेको थियो । प्रदेशले जेठ १९ गते आफ्ना मातहतका कार्यालयलाई दर्ता प्रक्रिया निरन्तर राख्न निर्देशन दिएको थियो । 

प्रकाशन भएका दस्तावेजहरू

6a390d10668b2_1782123792.pdf