११ महिनामा साढे १५ हजार कार आयात: पेट्रोल गाडीको आयात बढ्दा ईभीमा गिरावट

आवमा कुल ३० अर्ब ७ करोड रुपैयाँ बराबरको कार आयात भएको हो । यसबाट सरकारले २५ अर्ब ४४ करोड रुपैयाँ राजस्व पाएको छ ।

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) सम्म साढे १५ हजार युनिट कार आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आवको जेठ मसान्तसम्म विद्युतीय र पेट्रोल दुवै गरी कुल १५ हजार ४६६ युनिट कार, जीप, भ्यान आयात भएको छ। गत आवको ११ महिनाको तुलनामा चालू आवमा समग्र कार आयात १ हजार ७८६ युनिट कम भएको छ। गत वर्ष जेठसम्म कुल १७ हजार २७२ युनिट कार आयात भएको थियो । चालु आवमा कुल ३० अर्ब ७ करोड रुपैयाँ बराबरको कार आयात भएको हो । यसबाट सरकारले २५ अर्ब ४४ करोड रुपैयाँ राजस्व पाएको छ । गत आवको ११ महिनामा ३५ अर्ब ९० करोड रुपैयाँ बराबरको सवारी आयात भएको छ ।

विगत केही महिनादेखि नेपाली बजारमा ईभी कारको आयात घट्दो क्रममा देखिएको छ । गत वर्ष ११ महिनामा १३ हजार ४९२ युनिट ईभी कार आयात भएकोमा चालु वर्ष घटेर १० हजार ८९२ युनिटमा सीमित भएको छ ।

चालु आवमा कुल २५ अर्ब ६८ करोडको ईभी कार भित्रिएका छन् । जसबाट सरकारले १५ अर्ब ५३ करोड रुपैयाँ राजस्व पाएको छ । गत आवको तुलनामा चालु आवमा बजेट अघि ठूलो संख्यामा कार आयात नहुँदा समग्र आयातमा प्रभाव परेको हो । यद्यपि, यस वर्ष पनि जेठ महिनामा मात्रै २ हजार युनिट ईभी आयात भएको छ । गत वर्ष जेठमा ३ हजार बढी ईभी आयात भएका थिए । ती कार अझै बिक्री भइसकेका छैनन् ।

चालु आवमा ५० किलोवाटसम्मका ३६८० युनिट, ५१ देखि १०० किलोवाटसम्मका ६३५७, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ७९८ र २०१ किलोवाट माथिका १० युनिट ईभी भित्रिएक छन् । त्यस्तै, ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएको छ ।