गाजा शहरमा इजरायली हवाई आक्रमण, दुई बालिकासहित ५ जनाको मृत्यु

गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बसलका अनुसार इजरायली सेनाले एक आवासीय अपार्टमेन्ट र सर्वसाधारणको समूहलाई लक्षित गरी सो हमला गरेको हो ।

काठमाडौँ । गाजा शहरको मध्य र उत्तरी क्षेत्रमा शनिवार इजरायलले गरेको दुई छुट्टाछुट्टै हवाई आक्रमणमा परी दुई बालिकासहित पाँच जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बसलका अनुसार इजरायली सेनाले एक आवासीय अपार्टमेन्ट र सर्वसाधारणको समूहलाई लक्षित गरी सो हमला गरेको हो । हमासद्वारा सञ्चालित सञ्चार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ अक्टोबरमा युद्धविराम शुरु भए यता गाजामा हालसम्म १ हजार १२ जनाको मृत्यु भएको छ भने ३ हजार २०८ जना घाइते भएका छन् । यसैगरी, मानवीय सहायताको अवस्थाबारे जानकारी दिँदै उक्त कार्यालयले इजरायली सेनाले हालसम्म सहायता सामग्री बोकेका १ लाख ५० हजार ६ सय ट्रकहरूमध्ये ५४ हजार २३ वटालाई मात्र गाजा प्रवेशको अनुमति दिएको जनाएको छ । त्यस्तै, सीमा पार गर्न अनुमति पर्खिरहेका २० हजार ६ सय व्यक्तिमध्ये हालसम्म ७ हजार ४ सय १७ जनाले मात्र अनुमति पाएको उल्लेख गरिएको छ ।