विनिमय दरको असरले मात्रै सार्वजनिक ऋण ५.७४ प्रतिशत बढ्यो, कुल ऋण २९ खर्ब ६१ अर्ब माथि
सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको जेठ मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब ७७ अर्ब २८ करोड र बाहृय १५ खर्ब ८३ अर्ब ९१ करोड रहेको छ ।
काठमाडौँ । जेठसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड पुगेको छ । सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको जेठ मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब ७७ अर्ब २८ करोड र बाहृय १५ खर्ब ८३ अर्ब ९१ करोड रहेको छ । गत असार मसान्तको तुलनामा जेठ मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण २ खर्ब ८७ अर्ब १४ करोड थपिएको प्रतिवेदनमा उल्लेख छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो । यो सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४४.८७ प्रतिशत हो ।
कुल सार्बजनिक ऋण जेठ मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५३.४९ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.५१ प्रतिशत रहेको ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब ६६ करोड सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा जेठ मसान्तसम्म ४ खर्ब १८ अर्ब १२ करोड ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा कुल सार्बजनिक ऋण प्राप्ति ७०.२० प्रतिशत रहेको छ । जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमश ९३.५५ र ३४.०१ प्रतिशत रहेको छ । कुल सार्बजनिक ऋण प्राप्ति मध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमश ८१ र १९ प्रतिशत रहेको छ ।
चालु आर्थिक बर्षमा ऋण सेवा खर्चमा ४ खर्ब ११ अर्ब १ करोड विनियोजन भएकोमा जेठ मसान्तसम्म ३ खर्ब ५१ अर्ब ७४ करोड भुक्तानी भएको सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले उल्लेख गरेको छ । यो बार्षिक बजेट विनियिजनको आधारमा ८५.५८ प्रतिशत हो । कुल गार्हस्थ उत्पादनको आधारमा जेठ मसान्तसम्म कुल ऋण सेवा खर्च ५.३३ प्रतिशत रहेको सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ ।
वैदेशिक ऋण अमेरिकी डलर, युरो, जापानी येनलगायत विदेशी मुद्रामा रहेको र नेपाली रुपैयाँको विनिमय दर कमजोर बन्दा ऋण दायित्व स्वतः बढ्ने गरेको छ। प्रतिवेदनअनुसार विनिमय दरको प्रभावका कारण मात्रै आर्थिक वर्षको सुरुआतमा रहेको सार्वजनिक ऋण ५.७४ प्रतिशतले वृद्धि भएको छ।
यसले सार्वजनिक ऋणको आकार बढ्नुमा नयाँ ऋण मात्रै जिम्मेवार नभई मुद्रा विनिमयको जोखिम पनि उत्तिकै प्रभावकारी रहेको देखाएको छ।