राष्ट्र बैंकले ल्यायो ५०० को ३० लाख थान नयाँ नोट चलनचल्तीमा, यस्ता छन् विशेषता
राष्ट्र बैंकले आज सूचना जारी गर्दै ५ सय दरका ३० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा।डा विश्वनाथ पौडेलको हस्ताक्षर भएको ५०० दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याईएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै ५ सय दरका ३० लाख थान नयाँ नोट चलनचल्तीमा ल्याएको जनाएको छ । राष्ट्र बैंकका अनुसार संकेत नम्बर झ३८ ०००००१ देखि ट८३ ९९९९९९ सम्मका नोट चलनचल्तीमा ल्याएको छ ।
नयाँ नोटको अगाडि भागमा सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको वाटरमार्क रहेको छ । दृष्टिविहीन व्यक्तिहरूले सजिलै नोट पहिचान गर्न सकून् भन्ने उद्देश्यले नोटको बायाँतर्फ दुईवटा काला थोप्लाहरू राखिएका छन् ।
नोटको सुरक्षा विशेषतालाई थप सुदृढ बनाउन सगरमाथा हिमालको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र राखिएको छ, जुन सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिन्छ । त्यस्तै, ३.५ मि.मि. चौडा भएको सुरक्षण धागोलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रङ्गमा परिवर्तन हुने बनाइएको छ ।
नोटको अगाडिको भागमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ भने तल्लो खण्डमा सिरिज नम्बर “वि.सं. २०८२” लेखिएको छ ।
नोटको पृष्ठ भाग (पछाडि) तर्फ पाटेबाघको चित्र रहेको छ र सोको माथि ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ । नोटको तल्लो खण्डमा अंग्रेजीमा ‘रुपीज फाइभ हन्ड्रेड’ र सिरिज नम्बर ‘२०२५’ उल्लेख गरिएको छ । यसअघि २०७८ साल पुस ९ गतेदेखि पुरानो शृंखलाको पाँच सय दरको बैंकनोट प्रचलनमा ल्याउने सम्बन्धी सूचना प्रकाशित भएको थियो । नयाँ नोटसँग सम्बन्धित विवरण अद्यावधिक गर्दै हालको शृंखला अनुसार वितरण सुरु गरिएको जनाइएको छ ।