कोरला नाकाबाट भित्रिएका ७७५ बिवाइडी गाडीलाई 'क्लिन चिट', दुई सातापछि रिलिज

समितिले जेठ २१ गते स्थलगत अनुगमन गरी अनुसन्धान गर्दा आयात प्रक्रियामा कुनै कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।

काठमाडौं । उत्तरी कोरला नाका हुँदै नेपाल भित्र्याएका चिनियाँ ब्रान्ड बिवाइडी का ७७५ वटा विद्युतीय सवारी साधन लाई सशस्त्र प्रहरीले दुई साता लामो नियन्त्रणपछि अन्ततः फुकुवा गरेको छ । गत जेठको दोस्रो र तेस्रो हप्ता नेपाल भित्रिएका यी गाडीहरूमध्ये ६४९ वटाको मुस्ताङ भन्सार कार्यालय नेचुङले भन्सार जाँचपास गरिसकेको भए तापनि, पैठारी प्रक्रियामा कैफियत भएको हुन सक्ने आशङ्कामा गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सशस्त्र प्रहरीले तिनलाई नियन्त्रणमा लिएको थियो । यसै क्रममा कोरला नाकामा ३९४, जोमसोममा २६६, कास्कीको हेमजामा ९८ र पर्वतको कुश्मामा १७ वटा गाडी रोकिएका थिए । गाडीहरूको वास्तविक अवस्था र राजस्व प्रक्रिया बुझ्न अर्थ मन्त्रालयले भन्सार विभागका निर्देशक भुपालराज शाक्यको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले जेठ २१ गते स्थलगत अनुगमन गरी अनुसन्धान गर्दा आयात प्रक्रियामा कुनै कैफियत फेला नपरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो । छानबिनबाट 'क्लिन चिट' पाएपछि सशस्त्र प्रहरी बलको केन्द्रीय निर्देशन अनुसार आइतबार साँझदेखि ती सवारी साधनहरू सम्बन्धित पक्षलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं. गुल्म जोमसोमका डीएसपी भेषराज गिरीले जानकारी दिए । फुकुवा भएसँगै गाडीहरू आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न थालेका छन् । जसअन्तर्गत जोमसोम बसपार्कमा रहेका २६६ मध्ये २२३ गाडी सोमबारसम्ममा गन्तव्यतर्फ लागिसकेका छन् भने बाँकी रहेका तथा भन्सार प्रक्रिया पूरा हुन बाँकी गाडीहरू पनि आवश्यक प्रक्रिया सकेर क्रमशः लैजाने बाटो खुला भएको छ ।