परराष्ट्रमन्त्री खनालको चीनको कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका मन्त्री हाइशिङसँग भेटवार्ता
सोमबार भएको भेटमा नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने, दल–दलबीचको आदानप्रदान विस्तार गर्ने तथा जनस्तरको सम्बन्धलाई थप गहिरो बनाउने विषयमा फलदायी छलफल भएको मन्त्री खनालले बताएका छन् ।
काठमाडौँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चीनको कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइशिङसँग भेटवार्ता गरेका छन् ।
सोमबार भएको भेटमा नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने, दल–दलबीचको आदानप्रदान विस्तार गर्ने तथा जनस्तरको सम्बन्धलाई थप गहिरो बनाउने विषयमा फलदायी छलफल भएको मन्त्री खनालले बताएका छन् ।
यसअघि आजै मन्त्री खनालले चीनको बेइजिङस्थित चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको तिब्बती उच्च भू–भाग अनुसन्धान संस्थानको भ्रमण गरेका थिए ।
आइतबार चीन भ्रमणका क्रममा बेइजिङ पुगेका मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् । चारदिने भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।