सडक अनुगमनमा मन्त्रीको आक्रोश : ‘ठेकेदार खोजेर ल्याउनुस्, काम नगरे खुट्टा भाँचिदिनू’
आइतबार पृथ्वी राजमार्ग अन्तर्गतको उक्त सडकखण्डको स्थलगत अनुगमनका क्रममा उनले काममा ढिलाइ गर्ने ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे ‘खुट्टा भाँचिदिनू’ सम्मको निर्देशन दिएका हुन् ।
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल स्थानान्तरणको जिम्मा पाएको ठेकेदारविरुद्ध सार्वजनिक रूपमा विवादास्पद अभिव्यक्ति दिएका छन् । आइतबार पृथ्वी राजमार्ग अन्तर्गतको उक्त सडकखण्डको स्थलगत अनुगमनका क्रममा उनले काममा ढिलाइ गर्ने ठेकेदारलाई खोजेर ल्याउन र काम नगरे ‘खुट्टा भाँचिदिनू’ सम्मको निर्देशन दिएका हुन् ।
धादिङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा आयोजना प्रमुखको उपस्थितिमै मन्त्री लम्सालले ठेकेदारप्रति आक्रोश व्यक्त गर्दै भने, ‘यो बिजुलीको पोल सार्ने कन्ट्र्याक्टर जहाँ भए पनि खोजेर ल्याउनुस् । काम गर्दैन भने खुट्टा भाँचिदिनू, मतलब भएन।’ उनको यो अभिव्यक्ति सार्वजनिक भएपछि सरकारी जिम्मेवार पदमा रहेका व्यक्तिबाट आएको भाषाशैलीलाई लिएर चर्चा सुरु भएको छ।
अनुगमनका क्रममा मन्त्री लम्सालले सडक निर्माणमा भइरहेको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै स्थानीय बासिन्दाले भोगिरहेको सास्ती अन्त्य गर्न कुनै पनि बहानामा काम रोक्न नहुने बताएका थिए। उनले निर्माण सामग्रीको आपूर्ति तथा अन्य प्रशासनिक अवरोध तत्काल हटाएर कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन समेत दिए।
यसैबीच, आइतबार प्रधानमन्त्री बालेन शाह ले सामाजिक सञ्जाल फेसबुकमा ‘देश बनाउने टोली’ शीर्षकसहित पूर्वाधार विकास मन्त्री लम्साल र गृहमन्त्री सुधन गुरुङ लाई दायाँ–बायाँ राखेर खिचिएको तस्बिर सार्वजनिक गरेका थिए । सोही दिन मन्त्री लम्सालको कडा अभिव्यक्ति बाहिरिएपछि उक्त घटनाले थप चर्चा पाएको छ ।