सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छ

उनले बौद्धिक सम्पती संरक्षण सम्बन्धि राम्रो कानून बनाएर त्यसबाट पनि रोजगारीको अवसर सृजना गर्न चाहेको उल्लेख गरे ।

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको दाबी गरेका छन् । 

आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा बोल्दै उनले रोजगारीको अवसर सृजना गर्नका लागि सरकारले रोजगारदातालगायतका सम्बन्धित पक्षसँग व्यापक छलफल गरेर अघि बढने योजना बनाएको पनि बताए । उनले बौद्धिक सम्पती संरक्षण सम्बन्धि राम्रो कानून बनाएर त्यसबाट पनि रोजगारीको अवसर सृजना गर्न चाहेको उल्लेख गरे । मन्त्री यादवले कुनैपनि युवालाई रोजगारीको खोजीमा विदेश जान बाध्य हुने विद्यमान अवस्थाको अन्त्य गर्ने सपना आफूले लिएको पनि बताए ।

उनले भने ,‘सरकारको तर्फबाट म के भन्न चाहन्छु भने-हामी युवालाई सीप, रोजगार र उद्यमसँग जोडने कामलाई राष्ट्रिय अभियानको रुपमा बढाएका छौ । अबको दशकमा गोभरमेन्ट, इम्प्वोइयरको बीचमा कोअपरेशन गरेर रोजगार कसरी सृजना गर्न सकिन्छ रु यसमा छलफलहरु गरौँला, कामहरु गरौँला । जस्तै हामीले जिन्जर बंगलादेश पठाउँछौँ, अन्य ठाउँहरुमा पनि पठाउँछौँ । त्यही जिन्जरलाई उताबाट प्याकिङ गरेर हामीलाई पठाइदिन्छ । हामीले टी पठाउँछौँ, त्यसैलाई प्याकिङ गरेर हामीलाई पठाइदिन्छ । अब इन्टरलेक्च्युयल प्रपर्टीको कुरा पनि आउँछ । यसमा पनि इन्नोभेशनका कुराहरु कल्पना गरिएको छ । इन्टरलेक्च्युयल प्रर्पटीको राम्रो कानून नभएको अवस्था पनि छ । त्यसलाई पनि बदल्ने छौ । चाँडै त सम्भव नहोला । तर एउटा सपना देखेको छु-नेपाल निर्माण गर्नुछ, जहाँ युवा विदेश जान बाध्य नहोस् । गएपनि सीपका साथ जाओस । र, अनुभव लिएर फर्कियोस । यहाँ विजनेश गरोस् ।’

मन्त्री यादवले सरकारले विदेश गएका युवाहरुलाई पनि स्वदेशमा नै रोजगारीको अवसर दिने अठोटसहित काम गरिरहेको बताए ।