इप्पानको २४औँ साधारणसभा आज, नयाँ नेतृत्व चयनको प्रतिस्पर्धा रोचक

वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामा र महासचिव बलराम खतिवडा पक्षबीच नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ।

काठमाडौं । निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आज काठमाडौंमा भएको छ ।

साधारणसभाको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले गर्ने कार्यक्रम छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ।

इप्पानको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले यसपटक वरिष्ठ उपाध्यक्ष पदलाई नेतृत्वको मुख्य प्रतिस्पर्धाका रूपमा हेरिएको छ। वर्तमान उपाध्यक्ष उत्तम भ्लोन लामा र महासचिव बलराम खतिवडा पक्षबीच नेतृत्वका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ।

यसअघि नै नयाँ कार्यसमितिका ६ पदाधिकारी निर्विरोध चयन भइसकेका छन्। उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएकी छन् भने सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेर मणि नेपाल, विजय मोहन भट्टराई र सुमन जोशी निर्विरोध चयन भएका छन्।

जलविद्युत् क्षेत्रको सबैभन्दा प्रभावशाली निजी क्षेत्रीय संस्था मानिने इप्पानको नयाँ नेतृत्वले आगामी दिनमा ऊर्जा क्षेत्रका नीतिगत सुधार, लगानी विस्तार तथा विद्युत् व्यापारका एजेन्डालाई कसरी अघि बढाउँछ भन्ने विषयलाई ऊर्जा क्षेत्रले चासोका साथ हेरेको छ ।