कर संरचना परिवर्तनको प्रभावः ई-भिटाराको मूल्य १ लाख रुपैयाँले घट्यो

संशोधित मूल्यअनुसार ४९ किलोवाट आवर ब्याट्री क्षमताको ई-भिटारा डेल्टा भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।

काठमाडौँ । सुजुकी ई भिटाराको मूल्य घटेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेटले मूल्यका आधारमा कर निर्धारण गरेसँगै सुजुकी ई भिटारको मूल्य १ लाख रुपैयाँले घटेको हो ।

नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले मंगलबारदेखि लागू हुने गरि मूल्य समायोजन गरेको हो ।

संशोधित मूल्यअनुसार ४९ किलोवाट आवर ब्याट्री क्षमताको ई-भिटारा डेल्टा भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। त्यस्तै, ६१ किलोवाट आवर ब्याट्री भएको जेटा भेरियन्ट ५२ लाख ९९ हजार रुपैयाँ, अल्फा भेरियन्ट ५८ लाख ९९ हजार रुपैयाँ तथा फ्ल्यागसिप अल्फा डुअल-टोन (डीटी) भेरियन्ट ५९ लाख ४९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । सीजी मोटोकर्पका अनुसार सुजुकी ई-भिटारा नेपालको पहिलो जापानी ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV) हो। HEARTECT-e प्ल्याटफर्ममा आधारित यो गाडीमा लेभल–२ एडीएएस, ५-स्टार बीएनक्याप सुरक्षा र भेहिकल-टु-लोड (V2L) जस्ता अत्याधुनिक फिचर उपलब्ध छन् । 

हाल ई-भिटारा चार भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । परिचयात्मक मूल्य पहिलो १०० बुकिङका लागि मात्र लागू हुने तथा संशोधित मूल्य सबै नयाँ बुकिङ र अपूर्ण अर्डरमा तत्काल लागू हुने कम्पनीको भनाइ छ ।