गत वर्षभन्दा दोब्बर हुँदै शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब बचतमा
गत वर्ष वैशाखमा ३ अर्ब २३ करोड डलर शोधनान्तर स्थिति बचत रहेकोमा चालू वैशाखमा भने ५ अर्ब ९८ करोड डलर पुगेको छ ।
काठमाडौं । मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचत गत वर्षको तुलनामा दोब्बर भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना (वैशाखसम्म)मा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड रुपैयाँ बचतमा रहेको हो । गत वर्ष वैशाखमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा भने दोब्बरभन्दा केही कम मात्रै शोधानान्तर स्थिति रहेको छ । गत वर्ष वैशाखमा ३ अर्ब २३ करोड डलर शोधनान्तर स्थिति बचत रहेकोमा चालू वैशाखमा भने ५ अर्ब ९८ करोड डलर पुगेको छ । निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति-संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्राको बाह्य प्रवाह बढी हुन जान्छ ।
शोधनान्तर खाताले चालु खाता र पूँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ । नेपालको हकमा रेमिट्यान्स आप्रवाह उल्लेख्य हुँदा त्यसको सकारात्मक प्रभाव शोधनान्तर स्थितिमा पर्छ ।
वैशाखसम्म चालु खाता ७ खर्ब २९ अर्ब २८ करोडले बचतमा छ । जवकी अघिल्लो वैशाखमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोडले बचतमा थियो । गत वर्ष वैशाखमा चालू खाता बचत २ अर्ब १ करोड डलरले बचतमा रहेकोमा गत वैशाखमा ५ अर्ब ५ करोड डलर बचत देखिएको छ ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड बराबर भएको छ । गत आवको सोही अवधिमा यस्तो रकम ८ अर्ब ४८ करोड थियो । चालु आवको १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ९६ करोड भित्रिएको छ । गत आवमा यस्तो रकम १० अर्ब ५८ करोड भित्रिएको थियो ।