चौथो दिन घट्यो सेयर बजार, कारोबार रकम सुध्रिँदा सोपान र कालिञ्चोकको मूल्य १५% बढ्यो
मध्यान्हमा बजार सूचक घटेर २७०१.८६ अंकसम्म झरेको थियो । तर, बजार बन्द हुने समयमा भने घट्दो रफ्तारलाई कम बनाएको छ । मंगलबार नेप्से १.५४ अंक घटेर २७३३.५९ विन्दुमा झरेको छ ।
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सूचक नेपाल एक्सट एक्सचेन्ज (नेप्से) सामान्य अंकले घटेको छ। यसअघि पछिल्ला तीन कारोबार पनि नेप्से घटेको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट ल्याएपछिका अधिकांस कारोबार दिनहरुमा नेप्से घटिरहेको छ ।
मंगलबार नेप्से १.५४ अंक घटेर २७३३.५९ विन्दुमा झरेको छ । यद्यपी मध्यान्हमा बजार सूचक घटेर २७०१.८६ अंकसम्म झरेको थियो । तर, बजार बन्द हुने समयमा भने घट्दो रफ्तारलाई कम बनाएको छ । यसअघि सोमबार २०.२७, शुक्रबार ११.३७ र बिहीबार १३.४६ अंकले घटेको थियो । त्यसैगरि मंगलबार सेन्सेटिभ इण्डेक्स ०.२९, फ्लोट इण्डेक्स ०.१२ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंकले घटेको छ । १०५ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने १५ को स्थिर रह्यो ।
मंगलबार नेप्से घटेपनि कारोबार रकम भने केहि बढेको छ । सोमबार ४ अर्ब ८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा मंगलबार ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँबराबरको १ करोड २३ लाख ८२ हजार कित्ता सेयर कारोबार भएको छ ।
मंगलबार सोपान फर्मास्यूटिकल्स र कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ११ प्रतिशत बढेको छ । उता, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक ९.१६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा मंगलबार कृषि विकास बैंकको बण्ड शीर्ष स्थानमा छ । कृषि विकास बैंकको ८ वर्षे एग्रीकल्चर बण्डको ५७ करोड रुपैयाँबराबरको कारोबार भएको छ । त्यसपछि सेन्ट्रल फाइनान्सको करिब ३६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
नेप्सेमा वर्गिकृत १३ उपसमूहमध्ये मंगलबार ४ उपसमूहको सूचक बढेको छ भने ९ उपसमूहको सूचक घटेको छ । मंगलबार होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको सूचक सामान्य अंक बढेको छ । मंगलबार सबैभन्दा धेरै वित्त उपसमूह सूचक १.०१ प्रतिशत घटेको छ ।