म्याद नाघेको खाद्यवस्तु बेचेपछि काठमाडौं फनपार्क लगायतलाई सवा ३ लाख जरिबाना

नयाँ बानेश्वरस्थित रेडोलेन्स नेपाल प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको छ । त्यस्तै, शंखमुलस्थित इलाभेन इलाभेन ग्रुप प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना गरिएको छ ।

काठमाडौं । सरकारले बजार अनुगमन क्रममा कैफियत भेटिएको भन्दै ६ वटा व्यावसायिक फर्मलाई नगद जरिबाना र ३ वटा फर्मलाई सचेत गराएकाके छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार गरेको अनुगमन क्रममा उपभोक्ता हित विपरीत काम गर्ने ६ फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम ३ लाख २६ हजार रुपैयाँ जरिबाना गरेको हो । सबैभन्दा बढी जरिबाना भृकुटीमण्डपस्थित काठमाडौं फन पार्कलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको छ । फन पार्कले म्याद नाघेका (डेट एक्स्पायर्ड) खाद्य सामग्री बिक्रीका लागि राखेको आरोप छ ।

त्यस्तै नयाँ बानेश्वरस्थित रेडोलेन्स नेपाल प्रालिलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको छ । रेडोलेन्सले आवश्यक अनुमति नलिई आफैं अत्तर (सेन्ट)हरूको लेबलिङ र बोटलिङ गर्ने गरेको विभागको आरोप छ । त्यस्तै, शंखमुलस्थित इलाभेन इलाभेन ग्रुप प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना गरिएको छ ।

विभागका अनुसार काठमाडौं पञ्चकुमारीस्थित पूर्वेली सेकुवा कर्नरले उपभोक्तालाई बिल नदिई कारोबार गरेको भेटिएपछि १० हजार रुपैयाँ जरिबाना गरेको छ । त्यसैगरि चाबहिलको मोबडिल्ज र बुद्धनगरको गणेश मोटर बाइक वर्कसपलाई जनही ५ हजार रुपैयाँ जरिबाना गरिएको विभागले जनाएको छ । जरिबानाका अतिरिक्त विभागले भीमसेनगोलाको गर्ल्स क्लोजेट प्रालि, चाबहिलको रुम्बा कलेक्सन र नाचघर गल्लीको डेलिसियस मम पसललाई सचेत गराएको छ ।