सामुदायिक वनमाथि अंकुश लगाउने प्रयास भए आन्दोलन गर्छौंः अध्यक्ष भण्डारी
उनले सरकारले नीति तथा कार्यक्रममा सामुदायिक वनलाई प्राथमिकतामा राखेको भएपनि बजेटमा भने अपेक्षित रुपमा समेट्न नसकेको बताए ।
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सरकारले सामुदायिक वनमाथि कुनै प्रकारको अंकुश लगाउने वा अधिकार संकुचन गर्ने प्रयास गरेमा आन्दोलनमा उत्रिने बताएका छन् ।
सामुदायिक वन उपभोक्ता महासंघको ३१ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सरकारले नीति तथा कार्यक्रममा सामुदायिक वनलाई प्राथमिकतामा राखेको भएपनि बजेटमा भने अपेक्षित रुपमा समेट्न नसकेको बताए । उनले नीति तथा कार्यक्रममा उल्लेख गरिएका व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसंग माग गरे । सामुदायिक वनका कार्ययोजना, व्यवस्थापन तथा अन्य नीतिगत जटिलताहरू समाधान गर्न सरकारले थप गम्भीरता देखाउनुपर्ने उनको भनाई छ । उनले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल विभिन्न क्षेत्रका साझा मुद्दामा सहकार्य गर्न तयार रहेको पनि बताए । उनले विद्युत, खानेपानी लगायतका क्षेत्रका समस्या सम्बन्धित नेतृत्वले सशक्त रूपमा उठाउनुपर्ने उल्लेख गर्दै महासंघ आवश्यक पर्दा अग्रपंक्तिमा रहने प्रतिवद्धता जनाए ।
अध्यक्ष भण्डारीले सामुदायिक वनमार्फत उद्यम विकास, पर्यापर्यटन प्रवद्र्धन, कृषि वन कार्यक्रम तथा वृक्षारोपण अभियानलाई विस्तार गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । फलफूल तथा जडीबुटीमा आधारित कृषि वन कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी गरिरहेको पनि जानकारी दिए ।