'घरजगाको हदबन्दी र कित्ताकाटको समस्या समाधान नभएसम्म अर्थतन्त्र चलामान हुन गाह्रो छ'

मुलुकको समग्र अर्थतन्त्र सकारात्मक भएपनि लगानीको वातावरण नबन्दा समस्या भएको छ । अर्थतन्त्र चलायमान बनाउन घरजग्गा व्यवसाय चलायमान हुनुपर्छ । त्यसका लागि घरजग्गामा देखिएका हदबन्दी र कित्ताकाटको समस्या समाधान हुनुपर्छ ।

काठमाडौं । घरजग्गाको हदबन्दी र कित्ताकाट सम्वन्धी समस्याको समाधान भए मात्र अर्थतन्त्र चलामान हुने सरोकारवालाहरुले बताएका छन् । आगामी आर्थिक वर्षको बजेटले सकारात्मक प्रतिक्रिया दिएपनि घरजग्गाको हदबन्दी र कित्ताकाटको समस्या समाधान नभएसम्म अर्थतन्त्र पूर्ण रुपले चलायमान हुन नसकेको ठम्याई उनीहरुको छ ।

नेपाल जग्गा तथा आवास विकास सङ्घको १९औँ वार्षिक साधारणसभाका वक्ताहरुले घरजगा चलायमान नहुँदा जति नै प्रयास गरिएपनि अर्थतन्त्र चलायमान हुन नसक्ने अवस्था आएको बताएका छन् । यद्यपी सरकारले सरकारले पुँजीगत खर्च बढाउने सके अर्थतन्त्रले केही गति लिन सक्ने उनीहरुको ठम्याई छ । 

साधारणसभामा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले हदबन्दीको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले घरजग्गा व्यवसायको समस्यालाई समाधान गर्न महासङ्घ सदैव सकारात्मक भएर लाग्ने बताए । आगामी आर्थिक वर्षको बजेटलाई सरकारको सकारात्मक पहलका रूपमा लिँदै थोरै भए पनि पुँजीगत खर्च बढ्दा निजी क्षेत्र चलायमान हुने र त्यसले समग्र अर्थतन्त्र चलायमान हुने अध्यक्ष श्रेष्ठले बताए । बजेटले पूर्वाधार क्षेत्रको खर्च बढाउनु, आयकर घटाउनु, प्रविधिलाई जोड दिनु, विदेशी नागरिकलाई लिजमा घर किन्न पाउने व्यवस्था गर्नु, व्यवस्थित सहरको कल्पना गर्नु सकारात्मक पक्ष भएको भन्दै श्रेष्ठले रोजगारीका लागि विदेश जानुपर्ने र उपभोग्य वस्तु ७० प्रतिशत विदेशबाट आयत गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । 

नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष विष्णुप्रसाद घिमिरेले बजेटले एकीकृत सहरी पूर्वाधारको कल्पना गर्नु सकारात्मक रहेको भन्दै जग्गा हदबन्दी र कित्ताकाटलाई सरकारले अध्यादेशमार्फत अगाडि बढाउने विश्वास लिए ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको समग्र अर्थतन्त्र सकारात्मक भएपनि लगानीको वातावरण नबन्दा समस्या परेको बताए । अर्थतन्त्र चलायमान बनाउन घरजग्गा व्यवसाय चलायमान हुनुपर्ने बताउँदै पाण्डेले अर्थतन्त्र चलायमान बनाउन घरजग्गामा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले लामो समयको अन्योलपछि स्थायी सरकार बन्दा निजी क्षेत्र आशावादी बनेको भन्दै घरजग्गा व्यवसायलाई माथि उकास्न सकेमात्र अन्य व्यवसाय अगाडि बढ्ने दावी गरे । नयाँ सरकारले भौतिक पूर्वाधारको क्षेत्रमा करिब चार खर्ब रुपैयाँ बजेट विनियोजन गर्नु निजी क्षेत्रका लागि खुसीको विषय भएको मल्होत्राको भनाई छ ।

कार्यक्रममा नेपाल जग्गा तथा आवास विकास महासङ्घका संस्थापक अध्यक्ष मीनमान श्रेष्ठले विदेशी नागरिकले ‘अपार्टमेन्ट’ लिजमा किन्न पाउने सरकारको निर्णय सकारात्मक भएको बताए । मुलुकको अर्थतन्त्र चलायमान बनाउने घरजग्गा व्यवसाय शिथिल बन्दै गएका बेला आगामी आवको बजेटले सकारात्मक मार्ग देखाएको मीनमान श्रेष्ठको भनाई छ ।

सङ्घका अध्यक्ष इन्जिनियर दीपक कुँवरले जग्गा हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा परेको बताए । २०७६ देखि लागू भएको जग्गा हदबन्दीसम्बन्धी व्यवस्थाले व्यवसायीलाई ठूलो मर्कामा पारेको भन्दै कुँवरले हदबन्दीको समस्या सथाशीघ्र समाधान हुनुपर्नेमा जोड दिए ।